काठमाडौं । लामो समयदेखि नेपाल र नेपाली समाजका लागि योगदान पुर्याउँदै आउनुभएका दीपक पहारीलाई नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्डले अमेरिकाको जर्जिया राज्यका लागि अनररी पब्लिक रिलेशन रिप्रेजेन्टेटिभ (एचपीआरआर पर्यटन–दूत) नियुक्त गरेकामा एटलान्टामा शनिबार एक बधाई कार्यक्रमको आयोजना गरिएको छ । 
नेप्लिज एशोसिएशन अफ जर्जिया (नाग) का सँँस्थापक सीके पराजुलीको अध्यक्षतामा आयेजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा विभिन्न क्षेत्र र समाजलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुले नेपालको पर्यटन प्रवद्र्धनका लागि आगामी दुई वर्षमा केके गर्न सकिन्छ भन्ने सम्भावनालाई औल्याउँदै पर्यटन–दूत पहारीलाई सुझावहरु प्रस्तुत गर्नुभएको थियो । नवनियुक्त पहारीले आफूलाई अनररी पब्लिक रिलेशन रिप्रेजेन्टेटिभ नियुक्त गरिएकामा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिँदै आफूले प्राप्त गरेको जिम्मेवारी पूर्णरुपमा शतप्रतिशत पूरा गरेर देखाउने बताउनु भयो ।
उहाँले आफू युवाअवस्थादेखि नै नेपालको पर्यटन क्षेत्रमा संलग्न हुदै आएको पृष्ठभूमिमा अहिले सरकारले दिएको जिम्मेवारीलाई एतिहासिकरुपमा सफल पारेर देखाउने बताउनु भयो । प्राप्त सुझावहरुलाई अंगाल्दै अमेरिकाबाट संसारमाझ नेपालको पहिचान बिस्तार गर्न र नेपालमा संसारभरबाट पर्यटक भित्र्याउन आफूले एकदमै मिहेनत गर्ने बताउनु भयो । कार्यक्रममा पर्यटन–दूत पहारी र श्रीमती स्मिता प्रधान पहारीलाई सम्मान गरिएको थियो । सम्मानपछि श्रीमती पहारीले लामो समयदेखि नेपाली समाजको हितका लागि काम गर्दै आउनुभएका पहारीलाई सरकारले पर्यटनदूत नियुक्त गरेकामा आफू गौरवान्वित भएको बताउनु भयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ, एनआरएनएका जर्जिया फोकल पर्शन दिलिपकुमार बानियाँले पर्यटनदूत नियुक्त पहारीले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । लामो समय नेपालको पर्यटन क्षेत्रमा कर्म गर्नुभएका वाशु पराजुलीले पर्यटन दूत नियुक्त हुनुभएका पहारीबाट नेपाल र नेपाली समाजले ठूलो योगदानको आशा राखेको बताउनु भयो । त्यस्तै नागका सँस्थापक राम पराजुलीले अमेरिकामा बसेर विश्वका मानिसहरुलाई नेपालको पहिचान प्रशस्त गराउन नेपाल सरकारले पर्यटनदूत पहारीलाई रोजेकोमा जर्जियावासी नेपालीका लागि यो गर्वको विषय भएको धारणा राख्नुभयो ।
कार्यक्रममा सुष्मा पहारी, कपिल वाग्ले, कृष्ण पराजुली, दीपक केसी, मनु पहारी, सुस्मिता पहारी, अजय रायमाझी, सुजित सिँह, श्रुती सिँह, सबिना पराजुलीआदिले पहारीको कार्यकालमा गर्न सकिने पर्यटन प्रवद्र्धनका कामहरुबारे सुझाव र सल्लाहहरु प्रस्तुत गर्नुभएको थियो ।











