५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केराखेती मासेर फूलखेती



अ+ अ-

नारायणगढ (चितवन) :  चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन् ।

तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताउनुभयो । विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरिएको उहाँको भनाइ थियो ।

कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुनुहुन्छ । उहाँले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आउनुभएको छ । “विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ ।”

उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूलखेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले रू ३० देखि ४० सम्म लिन सक्छौँ ।” दुई जना मिलेर फूलखेती सुरु गरेको भन्दै उहाँले यसका लागि करिब रू पाँच लाख ५० हजार लगानी भएको बताउनुभयो ।

पौडेलले यसबाट रू १५ लाखको आम्दानी हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै लगेर प्राङ्गारीकतर्फ लैजाने योजना छ ।” यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूलखेती गरेको बताउनुभयो । विगतको वर्षमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढीमात्रामा गरिएको भन्दै उहाँले यहाँ उत्पादन भएका फूल स्थानीय बजारमाभन्दा पनि काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको जानकारी दिनुभयो ।

वाइबाले स्थानीय पालिकाले केहीमात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेकोे जानकारी दिनुभयो । “हाल दैनिक सात/आठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ ।” हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई/तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताउनुभयो ।रासस