एजेन्सी । भारतमा शुक्रबारदेखि जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज दुईपटकको विजेता कोलकता नाइट राइडर्स र २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन् ।
यो वर्षको आइपिएलमा २ टिममा मात्र विदेशी खेलाडी कप्तान रहेका छन् । कोलकताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् भने हैदरावादको कप्तानी अष्ट्रेलियाका डेभिड वार्नरले गर्दैछन् । गत सिजनमा कोलकताले दुबै खेलमा हैदरावादलाई पराजित गरेको थियो ।
हैदरावादको टिम उक्त हारको बदला लिने दाउसहित मैदानमा उत्रनेछ । यो सिजनको प्रमुख दावेदारमध्ये हैदरावाद पनि एक रहेको छ । यो टिममा आक्रामक ब्याट्सम्यान त छँदै छन् बलिङ लाइनअप पनि उत्कृष्ट रहेको छ । यस्तै टिमका कप्तान डेभिड वार्नर आइपिएलको इतिहासमै यस्तो ब्याट्सम्यान रहेका छन् जसले ६ सिजनमा लगातार ५०० भन्दा बढी रन बनाउन सफल रहे ।
अर्कोतर्फ कोलकताको कुरा गर्दा पहिलाको सिजनभन्दा यस सिजन खेलाडीहरुको सन्तुलन देखिन्छ । कोलकताले यो सिजन अक्शनमा गम्भीर रही खेलाडीहरु किनबेच गर्यो । राजस्थानले जति रकम खर्च गरेर क्रिस मोरिसलाई आफ्नो टिममा ल्यायो कोलकताले त्यसको आधा पैसाले ८ सानदार खेलाडी किन्यो । जसमा शकिब अल हशन, बेन कटिंगजस्ता अलराउन्डर छन् भने करुण नायरजस्ता ब्याट्सम्यान र हरभजन सिंहजस्ता अनुभवी स्पिनर रहेका छन् ।
डेभिड वार्नरले आइपिएल करिअरमा कोलकताविरुद्ध २३ खेल खेल्दै १४६.१५ को स्ट्राइक रेटमा ९१२ रन बनाएका छन् । यसक्रममा उनले ३८ छक्का र ८६ चौका प्रहार गरेका छन् । वार्नरले कोलकताविरुद्ध २ शतक र ४ अर्धशतक लगाएका छन् ।
कोलकताको तर्फबाट नरेन र कुलदीपले हैदरावादविरुद्ध १० १० विकेट लिएका छन् । यस्तै शुभमनले हैदराबादको विरुद्धमा ७ खेलमा १६० रन बनाएका छन् । उनको ब्याटिङ सरदर ४० को र बेस्ट स्कोर ७० रन नटआउट रहेको छ । हालसम्म १९ खेलमा यी दुईको भेट हुँदा १२ पटक कोलकताले जितेको छ भने ७ पटक हैदरावाद विजयी भएको छ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।











