• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

बागलुङबाट जाजरकोट र रुकुमपश्चिममा पहिलो चरणमा ५० लाख राहत पठाइने



जाजरकोट भूकम्प (फाईल फोटो)

बलेवा । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् ।

बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको हो । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् ।

बैठकमा उपस्थित सबैले आफ्नोआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्कलित सहयोगलाई जिल्ला प्रशासनमार्फत वितरण गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । अन्य सङ्घसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर थप सहयोग पठाइने उहाँले बताउनुभयो ।

जिल्लाका चार नगरपालिकाले रू छ लाख ३० हजारको दरले र छ गाउँपालिकाले रू चार लाख २० हजारका दरले गरी रू ५० लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकममध्ये नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावश्यक सामग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको छ ।

भूकम्प पीडितको वितरणका लागि जिल्लाको टोली त्यसतर्फ आज जाने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्घसंस्थाले पनि राहत सामग्री सङ्कलन गरिरहेका छन् । “हामीले न्यानो कपडा सङ्कलन गरिरहेका छौँ । वितरणका लागि टिम बनाएर पठाउने तयारी छ”, उहाँले भन्नुभयो, “पीडितलाई जे आवश्यक छ । त्यो पुर्‍याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।”

बैठकमा पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले भूकम्प पीडितका लागि रू ५० हजार सहयोग गर्ने घोषण गर्नुभयो । कालीका भगवती गुठी व्यवस्थापन समितिले रू एक लाख दिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुमपश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर त्यहाँ आवश्यकपर्ने सामानको प्राथमिकीकरण गरिदिन आग्रह गर्नुभयो । विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान सङ्कलनलाई तीव्रता दिएको भन्दै आजसम्ममा प्रभावित क्षेत्रमा उक्त सामग्री पुर्‍याउने तयारी भएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रमस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तीमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखले आवश्यकताका आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

विपत्को खोजी उद्धार सकिएकाले पुन:निर्माणलगायतका काममा जिल्लाबाट आवश्यक सहयोगका लागि टिम तयार गर्ने विषयमा छलफल भएको थियो ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकाले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताका आधारमा सहयोग जुटाउन आग्रह गर्नुभयोे । पहिलो चरणको राहत प्याकेज सोमबार जाने र दोस्रो प्याकेजमा थप सामग्री तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको सहायक प्रजिअ बरालले बताउनुभयो । रासस