१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल



अ+ अ-

मलेखु । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।

धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिनुभयो । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताउनुभयो ।

मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् । सडक सञ्जाल जोडिए पनि सबैखालका मोटर भने जान सक्दैन । धेरै घुम्ती र उकालो–आरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ । खोलामा पुल नहुँदा पानीमै जोखिम मोल्नुपर्ने बाध्यता छ । रासस