• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान



मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।

अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताउनुभयो । “खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,” उहाँले भन्नुभयो, “अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।”

धान झाँट्ने थ्रेसरको प्रयोगले एकै दिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताउनुभयो ।

जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

“यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकामा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,” तिवारीले भन्नुभयो । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उहाँको भनाइ थियो ।

जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका जनाउँदै तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताउनुभयो । “जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ,” उहाँले भन्नुभयो, “जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।”

यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस