२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारका लागि विद्यालयमा फूल उत्पादन



अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ ।

“करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ ।” विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उहाँले बताउनुभयो । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ ।

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने नि:शुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताउनुभयो ।

“उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ । विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताउनुभयो । रासस