२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या



अ+ अ-

एजेन्सी । अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाई छ ।

अमेरिकी अधिकारीहरुको भनाई सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ । अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन् । तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाई छ । 

अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताउनुभयो । खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उहाँको भनाई छ ।

जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ । विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन् । खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ ।

ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ । यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन् । यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ । जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ ।