२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थानीमाईमा फूलको डोली भित्र्याउनेको भीड



अ+ अ-

दमौली । तनहुँको प्रसिद्ध थानीमाई मन्दिरमा फूलको डोली भित्र्याउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । भानु नगरपालिका–७ बसन्तपुरमा अवस्थित सो मन्दिरमा फूलको डोली लिएर आउनेभक्तजनको भीड बिहानैदेखि बढेको हो ।

मन्दिरमा बिहानैदेखि हजारौँकौ सङ्ख्यामा भक्तजनको आगमन भइरहेको स्थानीयवासी मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । “बिहानैदेखि भक्तजनको आगमन भइरहेको छ, भीड बढ्दो अवस्थामा छ, आउने क्रम जारी छ,” उहाँले भन्नुभयो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले कात्तिक महिनाको मङ्गलबार फूलको डोली भित्र्याउन देशका विभिन्न ठाउँबाट भक्तजन आउने जानकारी दिनुभयो । यहाँ तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौँलगायत जिल्लाबाट भक्तजन यहाँ आउने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष थापामगरले भन्नुभयो,“थानीमाईमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ, यसै कारण यो ठाउँ धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भइरहेको छ ।” पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारदेखि भानुको भन्सार हुँदै बसन्तपुर पुगिन्छ । भक्तजन फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

उक्त मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा विकसित हुन थालेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंँशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

उक्त मन्दिरसम्म जाने सडक कालोपत्र गर्न लागिएको छ । बाइसजागर थानीकाथान हुँदै चन्द्रावती टुहरेपसल सडक कालोपत्रका लागि रु आठ करोड ८३ लाखको बोलपत्र आह्वान भएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको छ ।समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुन:निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिर पुन:निर्माण गरिएको थियो । विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंबदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ थियो । रासस




भर्खरै