२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तले भन्दा बढी कति ?



अ+ अ-

काठमाडौँ । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले। १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ । तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताउनु भयो । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा एउटा खाता रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तिय पहुँच कति छ, सिपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ ? लगायतका विषय समेटिएको बताउनु भयो । उहाँले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि बताउनु भयो । उहाँले योजना तर्जुमा गर्नका लागि पनि यसको भुमिका हुने उल्लेख गर्नुभयो ।

उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिव ६ लाख भन्दा बढी घरहरु रित्तो अवस्थामा रहेको पनि बताउनु भयो ।