१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ: मञ्जु अन्सारी

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ: मञ्जु अन्सारी
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ ।  उहाँले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गरिएकामा अहिले अभ्यासमा रहेको व्यवस्थालाई पनि उपलब्धिकै रूपमा ग्रहण गरिएको बताउनुभयो ।

सांसद अन्सारी भन्नुहुन्छ, “जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावलाई कम खर्चिलो तुल्याउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा तराईका २२ जिल्ला समेटिएको मधेस प्रदेशको माग भने हामी निरन्तर उठाइरहने छौँ ।” समानुपातिकका नाममा आफ्ना नातागोता र पैसा असुलेर उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको बताउँदै उहाँले भन्नुभयो, “समानुपातिकमा नेताका श्रीमती, छोरा/छोरी, भान्जा/भान्जी र आसेपासेलाई ल्याइनुहुन्न । जनताले त्यस्तालाई निर्वाचनमा तिरस्कार गर्नुपर्छ ।”

नेपाल सद्भावना पार्टीमा रही विसं २०४६ देखि राजनीतिक यात्रा सुरु गर्नुभएकी नेत्री अन्सारीले सोही पार्टीको महिला विभाग, काठमाडौँ उपत्यका इन्चार्जको जिम्मेवारीका साथ विसं २०५६ मा रौतहटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुभयो । पछिल्लो समय उहाँ जसपा नेपालका पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

संसद् संविधान, कानुन, नियम बनाउने थलो भए पनि त्यहाँका क्रियाकलापले सत्तापक्ष र प्रतिपक्षको युद्धस्थलजस्तो भएको विचार राख्दै नेत्री अन्सारीले प्रतिपक्षले विरोधका लागि विरोध र सत्तापक्षले त्यसको आलोचना मात्रै गर्ने कार्यले गोलमाल देखिएको भनाइ राख्नुभयो ।

सप्तरी र रौतहट कार्यक्षेत्र भएकी तथा समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अन्सारी शिक्षित र बुद्धिजीवी वर्गको प्रतिनिधित्व भएको सदनले जनतालाई समेत उत्साहित, मर्यादित र अनुशासित तुल्याउने सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ सदनभित्रको गतिविधिले ‘डिसिप्लिन सिकाउने ठाउँमै डिसिप्लिन’ हँुदैन भने बाहिर कसरी सिकाउने होला भन्ने महसुस भएको छ तर सांसद आफैँले ज्ञानबद्र्धक, ओजपूर्ण, शालीन र सभ्य अभिव्यक्ति र प्रस्तुति दिनुपर्छ ।”

उहाँले जनताका पीरमर्काका आवाज उठाएर सम्बोधन गराउन प्रयत्न गर्नुपर्ने ठूलो ठाउँ तथा ठूला नेता र बुद्धिजीवीको प्रतिनिधित्व रहेको सदनमा यस्ता गतिविधि अचम्मलाग्दो र खल्लो भएको विचार प्रकट गर्नुभयो ।

जनताले सुख पाउँदैनन् भने कानुन बनाएर मात्र के अर्थ रहन्छ भनी प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “कानुन बनाएर अनुशासन र नियममात्रै सिकाउने कि खाली पेट भर्ने उपायको खोजी गर्ने भन्ने अहिलेको मुख्य विषय हो ।”

सरकार ढुकुटीमा पैसा कम रहेको भन्ने तर जनतालाई चर्को करले अप्ठेरामा पारेको आरोप लगाउँदै उहाँले कर अस्वाभाविक ढङ्गले बढाइएको र राहत ओझेलमा परेको बताउनुभयो ।

देशको राजनीतिक तथा आर्थिक स्थितिमा सुधार र युवाको विदेश पलायन रोक्न रोजगारी दिलाउने आशा र विश्वास लिएर आफू सदनमा गएको बताउँदै उहाँले त्यसका लागि आफ्नो निरन्तर कोसिस रहे पनि प्रारम्भमै केही धमिलोपन महसुस भएको प्रतिक्रिया दिनुभयो ।

मुलुकमा पछिल्लो समय समाजका सबै क्षेत्र तथा तह र तप्कामा भ्रष्टाचार निकै वृद्धि भएको घटनाको अनुभव सुनाउँदै सांसद अन्सारीले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै संलग्न रहेको प्रतिक्रिया दिनुभयो । एक प्रसङ्गमा उहाँले भन्नुभयो, “राजनीतिक नेता तथा कार्यकर्ता मात्र नभई तल्लो तहदेखि लाइन लागेर माथिल्लो तहसम्मका कर्मचारी पनि भ्रष्टाचार र अनियमितामा संलग्न छन्, यो समाजका सबै क्षेत्रमा व्याप्त छ, नियन्त्रण नभएसम्म सुशासनको पाटो कमजोर रहन्छ ।”

अनियमितता र भ्रष्टाचारका विरोधमा पार्टीले सदासर्वदा सशक्तरूपमा आवाज उठाइरहेको जिकिर गर्दै नेत्री अन्सारीले अनुसन्धान र प्रमाणले पुष्टि गर्न नसक्ने विषयमा सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गरी कसैको चरित्र हत्या गर्ने कार्य भने बन्द गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्धको कदम र अभियान निष्पक्षरूपमा चालिएमा पछिल्ला दिनमा त्यसमा संलग्न हुन सबै डराउने तर्क गर्दै उहाँले प्रश्न गर्नुभयो, “सरकारी जग्गा व्यक्तिका नाममा गर्ने र विमानस्थलबाट सुन बाहिर आएको घटनामा संलग्न दोषीलाई अहिलेसम्म कारबाही खोइ त, त्यस्ता मुद्दाको टुङ्गो किन नलागेको ?” ठूलो सङ्ख्यामा विद्यार्थी र युवा शिक्षा तथा रोजगारीका नाममा विदेश पलायनको घटनाले देशका लागि विविध खाले चुनौती खडा गरेको बताउँदै नेत्री अन्सारीले युवालाई पढ्न र रोजगारी दिने वातावरण तयार गर्न राज्यले भरमग्दुर प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । रासस