• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

प्रधानसेनापति शर्मा, प्रधानन्यायाधीश श्रेष्ठ चीन जाँदै



काठमाडौं । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रधान सेनापति प्रभुराम शर्माले केही दिनभित्रै चीन भ्रमण गर्न लाग्नु भएको छ ।

परराष्ट्र स्रोतका अनुसार प्रधानसेनापति शर्मा अक्टोबर २८ (कात्तिक १०) मा चीन भ्रमणमा जाने तयारी भएको छ ।

चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्माको भ्रमण लगत्तै प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चीन जानु हुनेछ । प्रधान न्यायाधीश फर्के लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेल हङकङ हुँदै चीन जाने तयारी भएको स्रोतले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्माले एक महिनाकै अन्तरालमा भारत र बेलायतको भ्रमण गरिसक्नु भएको छ । हाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको बेल्ट एन्ड रोड (बिआरआई) को सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनु भएको छ । यद्यपी मन्त्री नारायणकाजी मुटुमा समस्या आएपछि बेइजिङमा उपचारात हुनुहुन्छ ।

गत असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाडको उद्घाटन समारोहमा सहभागी हुन चीन जानु भएको थियो । उहाँले आठ दिन चीनमा रहँदा राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटघाटका साथै कैलाश मानसरोबर सहित चीनका विभिन्न स्थानको भ्रमण गर्नु भएको थियो ।

केही समयदेखि नेपालका मन्त्री, विभिन्न निकायका पदाधिकारीहरु तथा राजनीतिक दलका प्रतिनिधिमण्डलहरुले चीनको नियमित अन्तरालमा भ्रमण गरिरहेका छन् । चीनका हरेकजसो शहरमा अहिले कुनै न कुनै प्रतिनिधिमण्डल घुमिरहेको समाचार प्राप्त भइरहेका छन् ।