५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँसँगै बढे पर्यटक



फाईल फोटो
अ+ अ-

चितवन । ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो । दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन् । यो क्रमश: बढ्दै गएको उहाँले बताउनुभयो ।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक रहेका छन् । दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “ढिलो गरी पर्यटकको आगमन आशालाग्दो गरी बढेको छ ।” सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छन् ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ, तिहार वरिपरि राम्रो हुने सङ्केत देखिएको छ ।” कात्तिक महिनामा दसैँ धमाका भनेर घिमिरेको जङ्गल सफारी लजले दुई रात तीन दिनको रु१२ हजारको प्याकेजसमेत ल्याएको छ । घिमिरेले भन्नुभयो, “यस वर्ष ढिलो गरी पर्यटकीय यामसुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ ।”

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउनुहुन्छ । सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ । यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ ।होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कात्तिकमा ५० प्रतिशत र मङ्सिरमा पूरै बुकिङ भइसकेको बताउनुभयो । पर्यटकको सङ्ख्या बढ्दो रहेको उहाँको भनाइ छ ।

यता भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ । होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ । गत साता ९० प्रतिशत बुकिङ थियो । अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ रहेको उहाँले बताउनुभयो । पटिहानीमा सातवटा पर्यटकीय होटल छन् ।

यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन् । मेघौलीमा तीनवटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । मैघौलीमा रहेको साराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको बताउनुभयो । पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । रासस




भर्खरै