५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प



अ+ अ-

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो ।

ढुङ्गाना उपचारका लागि काठमाडौँ गएका छन् । उनी उपचारका लागि गएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।”

जिल्ला अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिए । “एनेस्थेसिया सहायक दशैँपछि मात्र फर्किनुहुन्छ, त्यतिबेलासम्म सेवा उपलब्ध गराउन सकिँदैन”, उनले भने । ढुङ्गानाको ठाउँमा अर्को कर्मचारीको व्यवस्था गर्न तत्काल सम्भव नभएको उनको भनाइ छ ।

जिल्लामा वैकल्पिक व्यवस्था नहुँदा सुत्केरीलाई चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन ।

अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ । रासस