
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी प्रसिद्ध गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आइतबार ट्विट गर्दै भन्नुभएको छ, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी लताको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो ।
भारतको सबैभन्दा ठूलो सम्मान भारत रत्नबाट सम्मानित लताले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउनुभएको थियो ।