२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

करोडौँको सिँचाइ आयोजना सम्पन्नः किसान हर्षित

करोडौँको सिँचाइ आयोजना सम्पन्नः किसान हर्षित
अ अ+ अ-

– मोहम्मद सदरुल (रासस)

विराटनगरः सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा मूल नहरको मोरङस्थित लोहन्द्रा खोलामा भत्किएको संरचना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसान हर्षित भएका छन् ।

तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किमी पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषक नहरका पानी खेतमा देख्न पाएका थिएनन् । यही वैशाख महिनाको अन्तिम साता पानी सञ्चालन हुने भनिएपछि त्यस क्षेत्रका कृषक हर्षित भएका हुन् ।

उक्त शाखा नहरका जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठ, शिवु थापा, देवीप्रसाद भण्डारी, भक्ति थापा र खड्गप्रसाद साहले भन्नुभयो, “नहर सञ्चालन हुने कुराले हामी हर्षित भएका छौँ, तर चार वर्षदेखि बन्द रहेका नहरमा अहिले घाँस, झार, दलकच्चु र माटोले पुरिएको अवस्था छ, खेतमा भरपूर पानी जान सक्ने अवस्था छैन, त्यसैले नहर सफा गर्नु अत्यन्त जरुरी छ ।” उहाँहरुले वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भर पर्नुपरेको थियो भन्दै अब नहरमा पानी आउने भएपछि हामी उत्पादनमा पूर्ववत अवस्थामा फर्किने बताउनुभयो । गएको वर्षमा वर्षातका मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि भोग्नुपर्ने समस्या अन्त्य हुने कुराले हामी निकै उत्साहित छौँ समितिका अध्यक्षहरुको भनाइ छ ।

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो संरचना निर्माणमा निकै चासो देखाएको छ । सिँचाइ विभागबाट पटकपटक निरीक्षण एवं अवलोकन हुँदै आएको सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले बताउनुभयो । संरचना भत्किएको लोहन्द्रा खोलादेखि पूर्वतर्फ छवटा शाखा नहरबाट करिब १० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने गरेको थियो । सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख यादवले कृषकले भोग्नुपरेको समस्यालाई निराकरण गर्न अहिले भत्किएको ठाउँमा नयाँ संरचना तयारी अवस्थामा छ र यसै महिनाको अन्तिम साता नहरमा पानी सञ्चालन गर्ने जानकारी दिनुभयो ।

संरचना निर्माण गर्न  आयोजनाको रु ४५ करोड २५ लाख २६ हजारको लागतमा साइफन र दुई लेनको पुल निर्माणका लागि निकालिएको बोलपत्रमा आशिष÷स्वामीनारायण÷आशीर्वाद जेभी धरानले मूल्य अभिवृद्धि करसहित रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का कबोल गरी २०७६ फागुन ३० गते सम्भौता गरेर निर्माण शुरु गरे पनि कोरोना महामारीले गत वर्ष काम प्रभावित भएको थियो । पुल निर्माण गर्ने अवधि आगामी २०८० भदौ ३० सम्म रहेको छ भने नहरको संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको थियो ।

नहरको पानी बग्न बनाइने साइफनको लम्बाइ २२७ मिटर, चौडाइ अढाइ मिटर र गहिराइ भित्री भागमात्र दुई मिटरको छ भने पुलको लम्बाइ १५५ मिटर र चौडाइ १० दशमलव ८५ मिटर रहेको छ । साइफनमा प्रतिसेकेण्ड आठ घनमिटर पानी बहाव हुने क्षमताको छ । साइफनको सबै काम चालु आवमा नै सम्पन्न हुने बताइएको छ ।  साइफनलाई वर्षात्मा खोलामा आउने बाढीबाट जोगाउन थप काम गर्नुपर्ने आवश्यकता विभागमा जनाकारी गराइसकेको प्रमुख यादवले बताउनुभयो ।

साइफनको काम सम्पन्न भयो, तर निर्माण कम्पनीलाई तिर्नुपर्ने रु छ करोड आयोजनासँग रकम छैन र भुक्तानीका लागि विभागमा पत्राचार गरिसकेको प्रमुख यादवको भनाइ छ । साइफन सुरुङमार्गजस्तो आरसिसी मोडलमा छन् भने जसको आयु ५० वर्षको हुने आयोजना प्रमुख यादवले जानकारी दिनुभयो । लामो समयदेखि नहर सफा गर्ने काम नभएकाले क्षमताअनुसारको पानी बहाव गराउन मूल नहरदेखि शाखा नहरलाई पनि सफा गर्नुपर्ने सुनसरी–मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर प्रेमचन्द्र झाले बताउनुभयो । उहाँले अहिले लोहन्द्रा खोलादेखि पूर्वतर्फका शाखा नहर केही वर्षदेखि बन्द भएकाले तत्काल नहरमा पानी सञ्चालन गर्नुपूर्व नै सफा गर्नुपर्ने आवश्यकता देखिएको छ, यस कामका लागि करिब रु दुई करोड खर्च लाग्ने अनुमान आयोजनाको रहेको जानकारी दिनुभयो ।

लोहन्द्रा खोलामा बनिरहेको पुलका विषयमा निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोष बस्नेतले हामीले पुललाई तोकिएको अवधिमा निर्माण गर्ने र यो पुल ७० मेट्रिक टन भार थेग्न सकिने दाबी गर्नुभयो । उहाँले पुलले सोचेअनुसारको भार थेग्न सक्छ कि सक्दैन भनेर एटिटी इञ्जिनीयर सर्भिस प्रालिबाट प्राविधिक मगाएको जानकारी दिनुभयो । प्राविधिक महेश ठाकुरका अनुसार पुलको गुणस्तर एवं बनावटमा कुनै पनि समस्या नदेखिएकाले सोचेअनुसारको भार थेग्न सकिने भन्नुभयो ।

निर्देशक बस्नेतले निर्माण कम्पनीले योजनामा काम गरेको भुक्तानी नपाउँदा धेरै ठाउँमा भागेका छन्, तर मैले जसरी भए पनि योजना सम्पन्न गरेको छु र मैलै भुक्तानी पाउनुपर्ने रु छ करोड आयोजनाले समयमै भुक्तानी हुने व्यवस्था मिलाइदिन आग्रह गरेको जानकारी दिनुभयो । निर्माणस्थलमा कार्यरत सुनसरी–मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर नित्यानन्द झाका अनुसार निर्माणको काममा कुनै पनि कमी कमजोरी हुन नदिन २४सै घण्टा आयोजनाबाट निरीक्षण एवं निगरानी भइरहेको छ भन्नुभयो ।

शुरुमा सुनसरी र मोरङमा कूल ४५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुने गरेको यस आयोजनाको नहरलाई विसं २०४५ मा चीन सरकारले ठूलो धनराशि लगानी गरेर नहर विस्तारको काम गरेको थियो । जसको फलस्वरुप अहिले दुवै जिल्लामा ६० हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुगेको छ । चतरा मूल नहर र यसका शाखा निर्माण भएको लामो समय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र जुनसुकै बेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट बञ्चित हुने अवस्था आउन नदिन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।