• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

तालचोक–बेगनास सडक अब चार लेन



गण्डकी । पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।

“ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो”, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भन्नुभयो, “सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।”

विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उहाँले बताउनुभयो । तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले बताउनुभयो ।

“रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्दैछ ।”

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताउनुभयो । दसैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा सो क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

सो सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक–बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाउनुभयो ।

“विस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ ।”

निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झक्झाइरहनुभएको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताउनुभयो । तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।

कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताउनुभयो । निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उहाँले बताउनुभयो ।

मुख्य पर्यटकीय याममै बेगनास क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या घटेको जनाइएको छ । “चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ”, पाण्डेले भन्नुभयो, “सडक निर्माणमा ढिलासुस्ती हुन दिनु हुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।” रासस