काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने समूह पक्राउ परेको छ । उनिहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक रहेका छन् । उनिहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिको स्वाबको परिक्षण नै नगरी नक्कली पीसीआर रिपोर्ट दिने गरेका थिए ।
स्वाब परिक्षणका लागी नेपाल सरकारले तोके भन्दाअत्याधीक बढी रकम लिने गरेको तथा स्वाबको नमुना समेत नलिई एक–दुई घण्टा भित्रमा नै नक्कली पीसीआर रिपोर्ट दिने गरेको सूचनाको आधारमा प्रहरीले ती स्थानमा छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममान केही थान नक्कली पीसीआर रिपोर्ट पनि फेला परेको थियो । पक्राउ पर्नेमा सुरिया हेल्थ प्रालिका व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंह सहित आठ जना रहेका छन् ।
प्रहरीले सुरिया हेल्थ प्रालिका ल्यावमा सामग्रीहरु समेत जफत गरेको छ । यसै बीच मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ऐजेन्टले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क वापत प्रतिव्यक्ति नौ हजार रुपैँया लिने र सुरिया हेल्थकेयर प्रालिसँगको मिलेमतोमा विना स्वाब परीक्षण नक्कली रिपोर्ट बनाइदिने गरेको बुझिएको प्रहरीले जनाएको छ ।











