काठमाडौं । नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १३६ जनालाई विमानस्थलबाट फर्काइएको छ।
बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा अध्यागमन विभागले फर्काएको हो ।
यसरी फर्काइनेमा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेका छन् ।
सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा उनीहरुलाई फर्काइएको हो ।
उक्त सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोप उसलाई लागेको छ । प्रयोगशालाका ६ कर्मचारीलाई अपराध महाशाखाले मंगलबार पक्राउ गरेको थियो।
फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको बताइएको छ ।











