एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४-२ गोलले पराजित गरेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ८ औं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, त्यसको दुई मिनेटपछि अर्थात १० औ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । त्यसपछि बार्सिलोनाका गावीले २१ औ मिनेटमा र रोनाल्ड आराउजोले ४३ औं मिनेटमा गोल गर्दा बार्सिलोना पहिलो हाफमै ३-१ ले अघि रह्यो ।
दोस्रो हाफको ४९ औं मिनेटमा ड्यानी आल्भेसले गोल गर्दै बार्सिलोनालाई ४-१ को स्थितीमा ल्याए । यता, ५८ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपनि एट्लेटिकोको लागि पर्याप्त भएन ।
६९ औं मिनेटमा ड्यानी आल्भेसले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।
जितसँगै २२ खेलबाट ३८ अंक जोडेको बार्सिलोना अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । समान खेलबाट ३६ अंक रहेको एट्लेटिको पाँचौं स्थानमा छ ।
यस्तै, आइतबार राति नै भएको अर्को खेलमा रियल मड्रिडले ग्रानडालाई १-० गोलले पराजित गरेको छ ।
घरेलु मैदानमा ७४ औ मिनेटमा मार्को एसेन्सिओले गरेको गोल नै रियलको जितको लागि निर्णायक गोल बन्यो ।
शीर्षस्थानमा रहेको रियलको २३ खेलबाट ५३ अंक छ । समान खेलबाट २४ अंकसहित ग्रानडा १६ औं स्थानमा छ ।











