• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दक्षिण अफ्रिकाले एकै खेलमा तोड्यो विश्वकपका ४ रेकर्डहरु



एजेन्सी । दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि सबैभन्दा ठूलो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा अफ्रिकी टोलीले श्रीलंकालाई १०२ रनले पराजित गरेको हो । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा शनिबार भएको खेलमा चार विश्वकपको कीर्तिमान बनेको छ ।

जसमा सर्वाधिक रन, सबैभन्दा छिटो शतक, एक खेलमा सर्वाधिक रन र एक इनिङ्समा तीन शतकको कीर्तिमान समावेश छ ।

१. दक्षिण अफ्रिकाको स्कोर ४२८ रन
टस हारेर पहिले ब्याटिङ गर्न आएका दक्षिण अफ्रिकाका ब्याट्सम्यानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाए । यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो स्कोर हो । अफ्रिकी टोलीले अस्ट्रेलियाको ४१७ रनको कीर्तिमान तोडे जुन टोलीले २०१५ मा अफगानिस्तानविरुद्ध बनाएको थियो ।

दक्षिण अफ्रिकाले कीर्तिमानी तेस्रो पटक विश्वकपमा ४०० भन्दा बढी रन बनाएको छ । यसअघि टोलीले आयरल्याण्ड र वेस्ट इन्डिजविरुद्ध पनि यस्तो गरेको थियो । विश्वकपमा अहिलेसम्म ५ पटक मात्रै ४०० भन्दा बढी रन बनाइएको छ । दक्षिण अफ्रिका बाहेक भारत र अष्ट्रेलियाले एक–एक पटक यस्तो गरेका छन् ।

२. विश्वकपमा सबैभन्दा छिटो शतक
दक्षिण अफ्रिकाका उपकप्तान एडेन मार्करामले एकदिवसीय विश्वकपको सबैभन्दा छिटो शतक बनाए । उनले मात्र ४९ बलमा आफ्नो शतक पूरा गरे । दिलशान मदुशंकाको फाइन लेगतर्फ छक्का प्रहार गर्दै मार्करामले आफ्नो शतक पूरा गरे ।

मार्करामले आयरल्याण्डका ब्याट्सम्यान केभिन ओ’ब्रायनको सबैभन्दा छिटो शतकको कीर्तिमान तोडे । ओब्रायनले सन् २०११ मा इङ्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

३. विश्वकप खेलमा सबैभन्दा धेरै रन
दिल्लीको मैदानमा विश्वकपको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनेको छ । दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा कुल ७५४ रन बनेको थियो । दक्षिण अफ्रिकाले ४२८ र श्रीलंकाले ३२६ रन बनाए । खेलमा ३ शतक र ३ अर्धशतक पनि परेका छन् ।

यसअघि सन् २०१९ मा विश्वकपमा एक खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान थियो । जब बंगलादेश र अष्ट्रेलियाबीच ७१४ रन बनेको थियो । जहाँ अस्ट्रेलियाले ३ सय ८१ र बंगलादेशले ३ सय ३३ रन बनाएको थियो ।

४. पहिलो पटक विश्वकप खेलको एउटै इनिङ्समा ३ शतक
एकदिवसीय विश्वकप इतिहासमा पहिलो पटक एक इनिङमा ३ शतक प्रहार भएको छ । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कक ९१०० रन०, रसी भान डेर ड्युसेन ९१०८ रन० र एडेन मार्कराम ९१०६ रन०ले शतकीय पारी खेले ।

४८ वर्ष पुरानो एकदिवसीय विश्वकप इतिहासमा यो पहिले कहिल्यै भएको थिएन । एकदिवसीय विश्वकप सन् १९७५ मा सुरु भएको थियो । तर, एकदिवसीय क्रिकेटमा भने अहिलेसम्म ४ पटक यस्तो भएको छ ।