८ असार २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो



अ+ अ-

टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।

टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।”

गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताउनुभयो । “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ”, उहाँले भन्नुभयो, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।”

गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उहाँको भनाइ छ ।

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च व्यर्होने गरेको छ । रासस