• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बंगलादेशद्वारा अफगानिस्तान ६ विकेटले पराजित, मिराजको दोहोरो प्रदर्शन



एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए) धर्मशालामा भएको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा १५६ रनमा अलआउट भई बंगलादेशलाई १५७ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले ३४.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

बंगलादेशका लागि नजमुल हुसेन शान्तो र मेहदी हसन मिराजले अर्धशतकीय पारी खेले । नजमुल हुसेन शान्तोले अविजित ५७ रन बनाए । मिराजले ७३ बलमा ५७ रनको पारी खेले । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई, नवीन उल हक र फजलहक फारुकीले एक–एक विकेट लिए ।

पावरप्लेमा बंगलादेशको सुरुवात मिश्रित रह्यो । टोलीले पहिलो १० ओभरमा ४४ रन बनाए पनि दुवै ओपनरको विकेट गुमायो । तान्जिद हसन तमिम ५ रन बनाएर आउट भए भने लिटन दास १३ रन बनाएर आउट भए ।

पावरप्लेमा दुवै ओपनर गुमाएपछि बंगलादेशका नजमुल हुसेन शान्तो र मेहदी हसन मिराजले टोलीको जिम्मा लिएका थिए । उनीहरूले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे । यो साझेदारी नवीन उल हकले तोडेका थिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानको टोली ३७.२ ओभरमा १५६ रनमा अलआउट भएको थियो । ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक रन बनाए । उनले ६२ बलमा ४७ रनको पारी खेले । अजमातुल्लाह ओमरजाई र इब्राहिम जाद्रानले २२/२२ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए । शोरिफुल इस्लामले दुई विकेट लिए । मुस्ताफिजुर रहमान र तस्किन अहमदले एक–एक सफलता हात पारे ।

दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल जारी

आजै दक्षिण अफ्रिका र श्रीलंकाबीच नयाँ दिल्लीमा खेल भइरहेको छ । दिवारात्रि यस खेलमा टस जितेर श्रीलंकाले दक्षिण अफ्रिकालाई ब्याटिङका लागि आमन्त्रण गरेको छ ।

दक्षिण अफ्रिकाले ३५ ओभरमा २ विकेट गुमाएर २४४ रन बनाइसकेको छ । दक्षिण अफ्रिकाका लागि विकेट किपर ब्याट्सम्यान क्विन्टन डी ककले १०० रन बनाएर आउट भएका छन् । कूल ८४ बल सामना गरेका उनले आक्रामक १२ चौका र ३ छक्का प्रहार गरेका थिए ।

क्रिजमा रास्सी भान डर डुस्सेनले पनि १०० रन बनाएर खेलिरहेका छन् । उनले १२ चौका, २ छक्का प्रहार गरेका छन् । साथै एडेन मार्करम पनि २४ रनमा छन् ।