३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै निर्माण सम्पन्न गर्न अहिले दैनिक २१ घण्टासम्म काम



अ+ अ-

काठमाडौँ : निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताउनुभयो । “बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ”, उहाँले भन्नुभयो, “कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन् ।” आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले काम गरेको गति हेर्दा निर्माण व्यवसायीले पनि काम समयमै सकाउने गरी काम भइरहेको देखिन्छ ।”

हाल निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा)को काम भइरहेको छ । भदौमा उपकरण आएपछि यसको काम भइरहेको इञ्जिनियर महर्जनले जानकारी दिनुभयो । अहिलेसम्म आठ पाइल सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्ने उहाँको भनाइ छ । एउटा साइडमा १२ र अर्काेमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो ।

‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी रहेको इञ्जिनियर महर्जनले बताउनुभयो । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ ।

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउछेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरेको छ । सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यकाको चक्रपथको ट्राफिक चापलाई व्यवस्थापन गर्न सरकारले ‘फ्लाइ ओभर’ निर्माण अघि बढाएको हो । फ्लाइ ओभर निर्माणपछि सातदोबाटो-कोटेश्वर खण्ड, मङ्गलबजार-इमाडोल हुँदै लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ ।

‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ । विसं २०७८ फागुनमा आशीष समानान्तर रेलिगेर जेभीले रु १७ करोड छ लाखमा निर्माणको जिम्मा पाएको थियो । रासस