२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा सेवा पुर्‍याउँदै टेलिकम



अ+ अ-

बागलुङ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो ।

यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो ।

पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् । विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो । घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो । अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ ।

वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पुर्‍याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उहाँको भनाइ छ । माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ । धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन् ।

सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताउनुभयो । टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए । धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि रु डेढ लाख सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताउनुभयो । गाउँपालिकाभर गुणस्तरीय सञ्चार सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले दङ्ग परेको बताउनुभयो ।

“भिस्याट हुँदा मोबाइलले राम्रोसँग काम गर्दैनथ्यो, सीमित व्यक्तिमात्र कुराकानी गर्न मिल्थ्यो”, उहाँले भन्नुभयो, “अहिले सबैतिर सजिलै फोन लाग्छ, थ्रिजी सेवाले इन्टरनेट सेवा पनि भरपर्दो भएको छ ।” टेलिकमले पुरानो भिस्याट प्रविधिमार्फत मोबाइल सेवा सञ्चालनमा रहेका दुर्गम ठाउँमा माइक्रोवेभ रेडियो लिङ्क विस्तारलाई तीव्रता दिएको छ । जसका कारण मोबाइल प्रयोगकर्ताले ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित छ । रासस




भर्खरै