• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने

संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन्: मन्त्री गुरुङ



काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरुको नियुक्ति संविधानको व्यवस्था अनुरुप गरेको बताउनुभएको हो ।

केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरु न्याय सेवा आयोगले लिएको परीक्षा उत्तिर्ण हुन नसकेकाहरु पनि परेका भन्दै समिति बैठकमा सांसदहरुले बिरोध जनाएका थिए । सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए । सोही कुराको जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका बिरुद्धमा काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग पनि छलफल गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानको धारा १४९ को उपधारा(२) को खण्ड(ख) र (ग) बमोजिम छुटाइएको पदमा सोही वर्षमा यदी विज्ञापन भए बमोजिम न्यायाधीश नियुक्ति हुन नसकेको अवस्थामा सोही वर्षमा त्यही धाराको खण्ड(क) बमोजिम नियुक्ति गर्ने कामलाई सिफारिस गर्ने भन्ने सन्दर्भ यहाँ मैले जोड्नुपर्ने भएको कारणले मैले यो भनेको हुँ । फेरी न्याय परिषद्, न्याय सेवा आयोगले पुरै संविधान बिरुद्धमै काम गरेको रहेछ कि भनेर सन्देश नजाओस् भनेर पनि मैले यति कुरा यहाँ राख्न खोजेको मात्रै हो । न्याय परिषद् र न्याय सेवा आयोगको साथीहरु बोलाउनु हुन्न भन्न खोजेको होइन, समितिले चाहेमा बोलाउन सक्छ ।’

मन्त्री गुरुङले सम्पती शुद्धीकरण(मनि लाउण्डरिङ) सम्बन्धि विधेयक संसदबाट पारित गर्न ढिलो भइसकेको बताउनु भयो । उहाँले उपसमिति बैठकमा संशोधनकर्ता सांसदहरु नै अनुपस्थित भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सांसदहरुको पहिलो प्राथमिकता कानून निर्माण गर्ने भएको उल्लेख गर्दै कुनैपनि बहानामा यस कामलाई नपन्छाउन आग्रह गर्नुभयो । उहाँले सांसदहरु जिल्ला गएकोप्रति लक्षित गर्दै जिल्ला घुम्नेले जिल्ला समन्वय समितिको संयोजक अथवा उपसंयोजक बन्ने हो भनि टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मन्त्रीको काम नै नभएको जस्तो यहाँ रुँघेर बस्नुपरेको छ । प्रस्तावक भनेर रुँघेर बसेको छ । अरु महत्वपूर्ण बैठक चलिराखेको छ । यहाँ रुँघेर बस्नु परिराखेको छ । एकजना माननीय सदस्य संशोधनकर्ता गेटमा आइपुगेको भन्नुहुन्छ, आधा घण्टामा पनि आउनुहुन्न । त्यस्तो परिस्थिति छ । यो पनि हो वास्तविकता । हामी सांसदमा निर्वाचित भएर आउँदै गर्दा, जिल्ला घुम्नेले त जिल्ला समन्वय समितिको संयोजक बन्ने हो । उपसंयोजक बन्ने हो । तर आ–आफ्नो दायित्व छ नि त । आ–आफ्नो कर्तव्य छ नि त । कानून बनाउन भनेर पठाएको हो नि त हामीलाई । त्यसकारण पहिलो दायित्व, पहिलो प्राथमिकता, हाम्रो पहिलो काम कानून निर्माण नै हो भन्ने मलाई लाग्छ । यो बारेमा सबै माननीय सदस्य जानकार नै हुनुहुन्छ । त्यसकारण मेरो घरको काम पर्‍यो वा केही पर्‍यो भन्ने कुरालाई प्राथमिकतामा नराखीदिनका लागि मैले विनम्र अनुरोध गरेँ ।’

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सम्पति शुद्धीकरण(मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको म्याद ७ दिनका लागि थप गरेको छ । ७ दिनपछि उपसमितिले समिति समक्ष प्रतिवेदन पेश गर्ने र केही दिन समितिमा दवाफार छलफल गरी संघीय संसदमा पठाइने गरी तयारी गरिएको छ ।