१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

भिण्डीले बजार नपाएपछि किसान समस्यामा

भिण्डीले बजार नपाएपछि किसान समस्यामा
अ अ+ अ-

रामपुर (पाल्पा) : व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।

घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिण्डीखेती गर्नुभएको थियो ।

अहिले उत्पादित भिण्डीले बजार नपाएकोे गङ्गाप्रसादले बताउनुभयो । “रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ”, उहाँले भन्नुभयो । हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिण्डी उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको आचार्य बताउनुभयो । “दिनहुँ भिन्डी उत्पादन भइरहेको छ, स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ”, उहाँले भन्नुभयो, “बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ ।” गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ ।

यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो रु ४० देखि बढीमा रु एक सयसम्म रहेको छ । उत्पादन भएको भिण्डीमध्ये सात क्विन्टल भिण्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ । दैनिक भिण्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ । अहिलेसम्म भिण्डी बिक्रीबाट करिब रु तीन लाखसम्मको आम्दानी भएको राधिकाले बताउनुभएको छ । बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिण्डी घरमै कुहाएर फाल्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।

अहिले भिण्डीको मूल्य बजारमा प्रतिकिलो रु ५० देखि ५५ रहेको किसान बताउँछन् । किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला–बेलामा त्यसै खेर फाल्नु परिरहेको छ । भिण्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ । बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् । टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ ।

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् । विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् । कालीगण्डकीबेँसीको मुख्य केन्द्रका रूपमा रहेको पाल्पाको रामपुर सहरीकरणका रूपमा विकास भइरहेको छ । यहाँ जनघनत्व बढ्दै गए पनि बाहिरबाट ठूलो परिमाणमा उपभोग्य सामग्री आयात भइराखेको छ । बाहिरी उत्पादनका वस्तुसँग स्थानीय वस्तुले प्रतिस्पर्धा गर्न नसक्दा बजार समस्या निम्तिएको छ । रासस