• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

टि–२० विश्वकप छनोट: नेपालको सबै खेल टियुमा हुने



काठमाडौं । घरेलु मैदान मुलपानी र टियुमा आगामि महिनाबाट आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता हुदैछ । कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म हुनलागेको खेलमा नेपालले आफ्नो सबै खेल टियु क्रिकेट मैदानमा खेल्ने भएको छ ।

नेपालको खेलमा दर्शक धेरै हुने भएकाले भिडलाई व्यवस्थापन गर्नको लागि नेपालको सबै खेल टियूमा आयोजना गर्न लागिएको हो । यसअघि घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कप र लिग टुमा दर्शकको उल्लेखनीय उपस्थिती रहेको थियो । दर्शकको भीडलाई मध्यनजर गर्दै नेपालको सबै खेल टियूमा गराउन लागेको क्यानले जानकारी दिएको छ ।

नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट विजेता टोली हुनेछन् । आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा आयोजना हुने एसिया क्वालिफायर ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

टि–२० विश्वकप छनोटमा समूह ए का सबै खेल टियु र बी का मुलपानीमा हुनेछ । नेपालले पहिलो खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग र तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ ।

दुबै समूहका शीर्ष दुई टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ ।

फाइनल खेल्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् । उपाधिको प्रमुख दाबेदार टोली नेपाल २०१४ पछि पहिलो पटक टि–२० विश्वकप खेल्ने सोचमा हुनेछ ।