२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ: परराष्ट्रमन्त्री साउद



अ+ अ-

बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताउनुभयो ।

“नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ”, नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवं मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्दै जाने दिशामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो औपचारिक भ्रमणलाई दुवै पक्षले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएका छौँ ।”

उहाँले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिनुभयो ।

“दुई असल एवं परम्परागत छिमेकीका रूपमा नेपाल र चीनबीच मित्रता र सांस्कृतिक आदानप्रदानको लामो इतिहास छ । हामीले पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित घनिष्ठ सम्बन्ध कायम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहना समेत गर्नुभयो ।

उहाँले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकतानुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

“नेपाली जनताको समृद्धिका लागि आर्थिक विकासलाई तीव्रता दिन नेपाल अहिले प्रयासरत छ । सन् २०२६ मा हामी अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछौँ र यस स्तरोन्नतिलाई सहज र अपरिवर्तनीय बनाउन हामी प्रयासरत छौँ”, उहाँले भन्नुभयो ।

विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि हामीलाई चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरेको बताउनुभयो ।

“व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी, गरिबी निवारण, शिक्षा, संस्कृति, कनेक्टिभिटीलगायतका क्षेत्रमा हाम्रो सहयोग र सहकार्य अभिवृद्धि गर्ने प्रशस्त सम्भावना छन्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल–चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापार सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबीचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । रासस