९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ माथि प्रहार किन ?



अ+ अ-

परम्परामा आगो लगाउनु, संस्कारलाई सिद्ध्याउनु, कुललाई नपुज्नु, पितृलाई नचिन्नुमा बुद्धिमानी ठान्ने, आधुनिक बन्ने महामारी गणतन्त्रसँगै भित्रिएर पश्चिमाले भनेझैँ फैलिएको छ ।

गाई खानु, जनै र टुपीलाई शत्रु ठान्नु, मन्दिर भत्काउनु, मूर्ति फोर्नु, भूमे र नाग नपूज्नुलाई पुरुषार्थ ठान्ने क्रम ह्वात्यै बढेको छ । सबै मिलेर गरिबीसँग लड्नुपर्ने, पछौटेपनसँग भिड्नुपर्नेमा समाजलाई टुक्र्याउने, परिवारलाई विखण्डन गर्नेहरुको जयकार हुँदैछ ।

भाषादेखि भगवान्सम्म, परिवारदेखि परम्परासम्म, पुर्खादेखि पौरखीसम्मलाई क्रमश: कमजोर बनाएर एक्ल्याउँदै लगेर सिद्ध्याउने काममा राम्रै मलजल हुँदै छ । पृथ्वीनारायण शाहलाई गाली गर्नमा, भनुभक्तलाई होच्याउनुमा गर्व गर्नेहरुको हालिमुहाली चलेको छ ।

सरकारले किन कान थुन्छ, मुख बन्द गर्छ, किन शिर झुकाउँछ उदेक लाग्दो छ । वेदव्यासलगायतका ऋषिहरुको जन्मस्थलमा जन्मिएकाहरुले वेद नपढ्नु, संस्कृत नबुझ्नु दुर्भाग्य हो, यसलाई दुत्कार्नु महापाप हो, यसमाथि अपव्याख्या गर्नु यमलोकको यात्री बन्नु हो ।

विश्वको पहिलो भाषा संस्कृत, जेठो शास्त्र वेद, प्रथम अक्षर ॐ हो । वेदमा ज्ञानको भण्डार छ, ब्रम्हाण्डको इतिहास छ, विज्ञानको सागर छ, मुक्तिको बाटो छ, जीउने कला छ । जे वेदमा छैन त्यो संसारमा छैन । वेदलाई मानिसले लेखेका होइनन् परमात्माको श्वासरूपी दिव्य ज्ञानलाई मन्त्रद्रष्टा ऋषिहरूले देखेर सङ्कलन गरेका हुन् ।

निरपेक्षरव: श्रुति/वेद: अर्थात्, जसलाई प्रमाणित गर्न अन्य प्रमाणको आवश्यकता पर्दैन त्यसलाई वेद भनिन्छ । वेदलाई अन्तिम निर्णय दिने, आधिकारिक र श्रेष्ठ प्रमाण भएको शास्त्र मानिन्छ । वेद सबैको साझा सम्पत्ति हो । वेदमा भेद छैन, कसैप्रति द्वेष छैन, कोहीमाथि दमन छैन । वेद उत्पत्ति र सङ्कलनको समयमा कुनै सम्प्रदाय थिएन, थर थिएन, विभेद थिएन, छुवाछुत थिएन । वेदका ऋचा, मन्त्र, कण्डिका वा अर्चिकाको शुरुमा ॐ आउँछ ।

स्कन्दपुराणका अनुसार शिवलिड्डको टुप्पो र फेद पत्ता लगाउन ब्रम्हा र विष्णु असमर्थ भए । उनीहरूले त्यही समयमा ॐको आवाज सुने । ॐको ध्वनि सुन्ने र आकार देख्ने पहिलो सौभाग्य ब्रम्हा र विष्णुलाई मिलेको थियो । ओमितीदं सर्वम् अर्थात् चराचर जगत् नै ॐ हो । एउटा अक्षरझैँ देखिए पनि ‘अ, उ, म् तीन अक्षर र चन्द्रविन्दुको संयोजनबाट ॐ बनेको छ । ॐलाई अक्षर र शब्दका रूपमा लिइन्छ । ॐको अर्थ क्रमश: ब्रéा, विष्णु, महेश्वर र त्रिशक्ति हुन्छ अर्थात् सबै देवीदेवता, चराचर जगत्को जननी ॐ हो ।

ॐकार प्रभवा: देवा ॐकार प्रभवा: स्वरा: ।
ॐकार प्रभवं सर्वं त्रैलोक्य सचराचरम् ।।

अर्थात्, “ॐकारबाट देवीदेवताहरूको उत्पत्ति भयो । ॐकारबाट उदात्त, अनुदात्त र स्वरित स्वरहरूको जन्म भयो । ॐकारबाट नै स्वर्ग, पृथ्वी र पाताल, चर, अचर सबैको सृष्टि भयो ।” सबैको अधिष्ठान भएकाले ॐलाई परमात्मा स्वरूप मानिन्छ । हाम्रा हरेक शास्त्रहरू कहिले र कसले ? कति समय लगाएर तयार गरे वा लेखे त्यसको प्रमाण पाइन्छ ।

जस्तै वेदव्यासले महाभारत तीन वर्षमा तयार गरेका थिए । वशिष्ठ, हनूमान्, वाल्मीकि, तुलसीदास आदिले रामायण लेखेका थिए । ॐ परमात्माको स्वरूप भएकाले यसलाई कसैले लेखेको वा बनाएको होइन । ॐ परमात्माजस्तै अनादि हो, यसको कोही लेखक र उत्पत्तिको मिति छैन । परमात्मारूपी ॐको उच्चारण गर्दै बिहान उठ्ने र बेलुका सुत्ने गरिन्छ । साधुसन्तको प्रवचनमा ताली नबजाएर ॐ भनिन्छ ।

उनीहरूको जनै, टुप्पी र मन्त्र नै ॐ हो । आस्तिकहरूले अभिवादनका लागि ॐ प्रयोग गर्दछन् । स्वाध्याय, मन्त्र जप र शुभकर्मको शुरुमा ॐ नलगाए सबै कर्म चुहिन्छ, अन्तमा नलगाए छरिन्छ । देवीदेवताको नामअगाडि ॐ राखेर मन्त्र निर्माण गरिन्छ । जस्तै ॐ नम: शिवाय, ॐ नमो भगवते वासुदेवाय, ॐ दुर्गायै नम: आदि । ॐकार परिवारका (हिन्दू, बौद्ध, जैन, शिख) सम्प्रदायले धार्मिक अनुष्ठान र मन्त्रको शुरुमा ॐको उच्चारण गर्दछन् ।

बौद्धधर्मले ॐमणि पद्मे हुम्………, गुरुग्रन्थसाहेबले ‘एक ओंकार सत्गुरु प्रसाद भन्दछ । भगवान् कृष्णले गीतामा ॐकार उच्चारण गर्न निर्देशन गरेका छन् । ॐकार: परमं ब्रम्ह सर्वमन्त्रेषु नायकम् अर्थात् ॐ परमब्रé र सबै मन्त्रहरूको नायक हो । तन्त्रमा पनि ॐको भाव कतै न कतै झल्किन्छ ।

ओमित्येकाक्षरं ब्रम्ह व्याहरन्मामनुस्मरन् ।
य: प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।
–गीता (८।१३)

अर्थात्, “जो व्यक्ति ॐ यो एक अक्षर ब्रéको उच्चारण गर्दछ तथा मेरो स्मरण गर्दै शरीरलाई त्याग्दछ, उसले परमगति प्राप्त गर्दछ ।” ॐको उच्चारणले शरीरमा शक्ति सञ्चार गराउँछ, दिमागलाई स्फूर्त एवं स्नायुहरूलाई तन्दुरुस्त बनाउँछ । आध्यात्मिक र शारीरिक रूपमा बलियो हुन ॐको उच्चारण गर्नुपर्छ । मन्त्रलाई विधिसम्मत उच्चारण नगर्दा इन्द्रलाई नाश गर्न उत्पन्न भएका वृत्रासुर आफैँ इन्द्रबाट मारिएझैँ हुन्छ । साधकहरूले ॐको उच्चारणबाट विभिन्न रोगहरूको उपचार, दुर्घटनाबाट छुट्करा, मनलाई नियन्त्रण गर्दछन् । मृत्युको समयमा पनि ॐको उच्चारण गरी मुक्तिको कामना गरिन्छ ।

“वेदले जसको वर्णन गरेको छ । सबै साधकहरू जसका लागि तप गर्दछन् । जसलाई प्राप्त गर्न ब्रéचर्यको पालन गर्दछन्, त्यस पदको संक्षेपरूप नै ॐ हो ।” ॐकार आफैँमा परमपवित्र, फलदायी, सुखदायी हुनाले प्रत्येक मन्त्र, कण्डिका, अर्चिकाको अगाडि उच्चारण गरिन्छ । गायत्री मन्त्रलाई ॐले सम्पुट (एकपटक गायत्री मन्त्र भनी सकेपछि ॐ भन्ने र पुन: गायत्री मन्त्र भन्ने) गरे छिट्टै सिद्धि प्राप्त हुन्छ ।

ॐमात्र यस्तो अक्षर हो जसभित्र चराचर जगत् अटाउँछ र सबैलाई आरक्षण दिन्छ । त्यसैले अक्षरं ब्रé परमम् भनिएको हो । यहीकारण यज्ञस्थलदेखि सामान्य पूजामण्डपसम्म ॐकार लेख्ने, पूजा गर्ने चलन छ ।

माङ्कल्यं पावनं धम्र्यं सर्वकामप्रसाधनम् ।
ओंकार: परमं ब्रम्हा सर्वमन्त्रेषु नायकम् ।।

अर्थात्, “सबै प्रकारका मङ्कल र शुद्धताका लागि, धर्मलगायतका कार्यलाई राम्रोसँग समापन गर्न ओम्कार परब्रé एवं मन्त्रहरूको नायक हो ।” ॐमा सबै प्रकारका शक्ति र शिक्षा भएकै कारण हरेक कर्म र अनुष्ठानमा उच्चारण गरिन्छ । कौषीतकि ऋषिले सूर्यलाई लक्ष्य गरी ॐको जप गर्दा पुत्र प्राप्त गरेका थिए । वैज्ञानिकहरूले ब्ल्याकहोल र सूर्यबाट ॐको ध्वनि आउँछ भनेका छन् । जुन दिन आकाशीय पिण्डहरूको पूर्णरूपमा खोजी भई चित्र कोरिनेछ त्यसको स्वरूप ॐ सँग मिल्नेछ ।

ॐको स्वरूप झण्डै गोलाकार छ जसले ब्रम्हाण्डको आकार बताउँछ । ॐले परमात्मा, जगत्, सारा प्राणी, देवताहरूको प्रतिनिधित्व गर्दछ । ग्रन्थ, चिना वा पुराना कागजपत्रको शीर्षभागमा ॐ लेखेको भेटिन्छ । हामीले अजपा गायत्री जपेजस्तै ब्रéाण्डले जप्ने मन्त्र ॐ हो । ॐ छैन त संसारको अस्तिŒव छैन, मन्त्रको अर्थ र प्रभाव रहँदैन ।

ॐ उच्चारणले जीवन पावन बन्छ, स्वर्गको द्वार खुल्छ, मुक्तिको मार्ग देखिन्छ, शरीरमा देवत्वको सञ्चार गराउँछ । ॐ उच्चारणले शरीर र मस्तिष्कमा सकारात्मक परिवर्तन गराउँछ । त्यसैले परमात्माका रूपमा ॐलाई उच्चरण गरिन्छ, लेखिन्छ, दर्शन गरिन्छ र ब्रम्हाण्डको आधार मानिन्छ ।

दिन प्रतिदिन नेपाली समाजमा बौद्ध र हिन्दूलाई जुधाउने, जातको राँके भूत बाल्ने, छुवाछुतका भिजिलान्तेलाई प्रश्रय दिने कामले संस्थागत रुप लिँदै छ । अर्कोतिर पश्चिमाहरु नेपालका हिमाल, पहाड, कुण्ड, गुफा र नदीकिनारामा ॐको ध्वनि, मन्त्रको साधनामा लागि परेका छन् । भारतमा पुगेपछि गेरुवस्त्र धारण गर्ने, त्यहाँका जोगीलाई नमन गर्ने तर शिरोभागलाई लथालिन्ग बनाउनमा को को लागि परेका छन् जगजाहेर छ ।

भारतले हिमवत्खण्डलाई स्कन्दपुराणबाट हटायो, नेपालमाहात्म्यलाई घटाएको प्रति सरकार आँखा थुन्छ । पश्चिमा न्वारनको बल लगाएर विभीषण जन्माउन, पुतनाहरु हुर्काउन, शकुनिहरु पैदा गर्न लागि रहेका छन् । ॐमाथिको आक्रमण हिन्दूधर्मका लागि मात्र नोक्शानदायी छैन बौद्ध, नानक, किरात, बोन आदिमाथि नै खतराको घण्टी हो ।

गायत्रीमन्त्र हाम्रो जरो हो, ॐ हाम्रो पहिचान हो, तन्त्र हाम्रो गौरव हो । हरेकले ॐ उच्चारण गरेर उठ्ने, पढ्ने, काम गर्ने हो भने नेपालीको शिर उच्च हुने थियो, पुर्खाको आशीर्वाद मिल्ने थियो, परम्पराको तन्तु जोगिने थियो ।

गाईको काण्ड सेलाउन नपाउँदै ॐमाथि प्रहार गर्नुले हामीलाई बिउँझाउन खोजेको हो । अब पनि जागेनौँ, अब पनि जगाएनौँ भने धर्म सकिने छ, इतिहास मेटिने छ, परम्परा तुहिने छ र राष्ट्रको अस्मितामाथि भन्ने नसकिने, सोच्नै नहुने दाग लाग्न सक्ने छ ।