२१ श्रावण २०८३, बिहीबार
,
Latest
मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल आवासीय चिकित्सकको निर्वाह भत्ता कार्यान्वयन गर्न सांसद डा. तोषिमा कार्कीको माग ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको काम अघि बढाउन सांसद यादवको माग निःशुल्क औषधिको अभाव र विपन्नको स्वास्थ्य उपचारमा देखिएका समस्याबारे संसदीय समितिमा सांसद पौडेलको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुन:जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उहाँले मन्तव्य दिने कार्यसूची छ ।

प्रधानमन्त्री दाहाल आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नु हुनेछ । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । आगामी असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नुहुनेछ । छोङछिङको भ्रमणपश्चात नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, सुरक्षा अधिकारी र सञ्चारकर्मी सहभागी हुनुहुन्छ । रासस