• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

पाकिस्तानमा विराटको क्रेज, फ्यानहरूको सबैभन्दा मनपर्ने क्रिकेटर



एजेन्सी । एसिया कप २०२३ मा भारतीय टोलीको जितको सिलसिला जारी छ । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँगको खेल नतिजाविहिन बनेपछि भारतले लगातार तीन खेल जितेको छ ।

जसमा समूह चरणमा नेपालविरुद्ध १० विकेटको जित, त्यसपछि पाकिस्तानमाथि २२८ रनको जित र सुपर फोर चरणमा श्रीलंकामाथि ४१ रनको जित समावेश छ । तर, यस प्रतियोगितामा पाकिस्तानविरुद्धको (सुपर ४)खेल बाहेक विराट कोहलीको ब्याटले खासै प्रदर्शन गर्न सकेको छैन ।

पाकिस्तानविरुद्धको महत्वपूर्ण खेलमा विराटले ९४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै अविजित १२२ रन बनाएका थिए ।

पाकिस्तानविरुद्ध सधै चल्ने गर्छ विराटको ब्याट

पाकिस्तानविरुद्धको खेलमा विराटको ब्याट चल्ने कुनै नौलो कुरा होइन । यसअघि पनि उनले भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध धेरै पटक धेरै रन बनाएका छन् । गत वर्ष मेलबर्नमा भएको टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेल जित्ने उनको इनिङ्स कसले बिर्सन सक्छ ।

भारतले उक्त खेल ४ विकेटले जितेको थियो । १६० रनको लक्ष्य पछ्याएको भारतले शून्य बल बाँकी छँदा खेल जितेको थियो । कोहली ५३ बलमा ८२ रनसहित अविजित रहेका थिए । तर, यी सबै इनिङका बावजुद विराट पाकिस्तानमा निकै लोकप्रिय छन् । उनी त्यहाँका सबैभन्दा मनपर्ने क्रिकेटर हुन् ।

विराटको ब्याटिङ देखेर खुसी हुन्छन् पाकिस्तानी फ्यानहरु


पाकिस्तानी फ्यानहरू जहिले पनि भारत विरुद्धको आफ्नो टिमको खेल हेर्न आउँछन्, उनीहरू पाकिस्तानको जितको लागि उत्साहित हुन सक्छन्, तर विराटको ब्याटिङ देखेर पनि उनीहरू खुसी हुन्छन् । भलै उनको टिम हारोस् पाकिस्तानी फ्यानहरूले विराटको प्रशंसा गर्न कहिल्यै चुक्दैनन् । आखिर भारतका यी दिग्गज ब्याट्सम्यान छिमेकी देशमा पनि यति चर्चित हुनुको कारण के हो ? अल जजिराले यसबारे पाकिस्तानी जनतासँग कुरा गरेको छ ।

कराचीका फ्यानले के भने ?


कराँचीका बासिन्दा अली भन्छन्, ‘पाकिस्तानी टोली भारतसँग हारे पनि आफ्नो मनपर्ने भारतीय क्रिकेटरको झलक पाउँदा निकै खुसी हुन्छु । सम्पूर्ण पाकिस्तानले विराट कोहलीलाई माया गर्छ भन्ने कुरामा कुनै शंका छैन । यसको एउटा साधारण कारण छ– उनले मित्रताको बाटोमा राजनीति आउन दिँदैनन् । उनले हाम्रा खेलाडीहरूसँग जस्तो व्यवहार गर्छन् र उनीहरूसँग जस्तो कुराकानी गर्छन् त्यसबाट हामीले पनि उनहरूलाई हार्दिक स्वागत गर्नुपर्छ ।’

पाकिस्तानी खेलाडीसँग विराटको मित्रता


वास्तवमा, जहिले पनि भारत–पाकिस्तान म्याच हुन्छ, विराटलाई पाकिस्तानी खेलाडीहरूसँग ठट्टा गर्ने र कुरा गरेको देख्न सकिन्छ । यसपटक पनि समूह चरणमा उनले पाकिस्तानी खेलाडीलाई भेटेर कुराकानी गरे । यो कुरालाई लिएर गौतम गम्भीर पनि रिसाए । उनले मैदानबाहिर मित्रता देखाउनुपर्ने बताएका थिए । यसका लागि गम्भीरको निकै आलोचना पनि भएको थियो ।

वर्षाले प्रभावित भारत–पाकिस्तान खेल हेर्न श्रीलंका गएका अलीले पाकिस्तानविरुद्ध विराटको उत्कृष्ट कीर्तिमानका वावजुद पनि आफूले पूर्व भारतीय कप्तानलाई अझै सम्मान गर्ने बताए । कोहलीले पाकिस्तानविरुद्धको १५ ओडिआई खेलमा ५५.१७ को औसतमा ६६२ रन बनाएका छन् । जसमा तीन शतक र दुई अर्धशतक समावेश छ । यसबाहेक उनले कट्टर प्रतिद्वन्द्वीविरुद्ध १० टी–२० खेलमा ८१.३३ को औसतमा ४८८ रन बनाएका छन् । जसमा पाँच अर्धशतक समावेश छ । एकदिवसीयमा विराटको उत्कृष्ट स्कोर (१८३ रन) पनि पाकिस्तानविरुद्ध (२०१२ मा) थियो ।

विराटका यी कीर्तिमानहरू देखेर पाकिस्तानी क्रिकेट फ्यानहरूको मनमा उनको लागि सम्मान अझ बढ्छ । ३४ वर्षको उमेरमा पनि विराटले सानदार प्रदर्शन कायम राख्न सक्ने क्षमता देखेर फ्यानहरु छक्क पर्छन् ।

अर्का पाकिस्तानी फ्यान शोएब खालिदले सोमबार राति कोहलीले म्याच विनिङ सेन्चुरी बनाएपछि भने– ‘यी ३४ वर्षीय एथ्लीटका लागि उनको फिटनेस स्तर क्रिकेटमा बेजोड छ । क्रिकेटमा हरेक उपाधि जित्दा पनि खेलप्रतिको उनको जागरूकता र लगनको म प्रशंसा गर्छु । उनले खेललाई सम्मान गर्छन्, त्यसैले हामी पनि उनलाई सम्मान गर्छौं ।’

गत वर्ष, जब कोहली क्रिकेटमा आफ्नो खराब चरणबाट गुज्रिरहेका थिए, उनलाई छिमेकी देशबाट धेरै समर्थन मिलेको थियो । त्यो पनि भारतको खेलमा होइन, पाकिस्तान र अस्ट्रेलियाको खेलमा । कराँचीमा पाकिस्तान–अष्ट्रेलिया क्रिकेट म्याचको क्रममा एक फ्यानले भारतीय स्टारलाई समर्थन गरेको पोस्टर बोकेका थिए । यसमा लेखिएको थियो– डियर विराट ! तिमीले शतक बनाउ या नबनाउ, तिमी सधै मेरो हिरो हुनेछौ । उक्त पोस्टरमा अब्दुल्ला आरिफको नाम लेखिएको थियो ।

विराट कोहली फ्यानका मनपर्ने खेलाडी


एसिया कपमा भारत–पाकिस्तान खेलमा कोहली ब्याटिङ गर्न आउँदा फ्यानले चर्को नारा लगाएका थिए कोहली ! कोहली ! कोहली ! भन्दै नाराबाजी गरिएको थियो । उनले बाउन्ड्रीमा फिल्डिङ गर्दा पनि यी नाराहरु निरन्तर लागे । कोहली जहाँ फिल्डिङ गर्थे, भीडले उनलाई मौरीको झुण्डझैँ पछ्यायो । जब उनी मिडविकेट बाउन्ड्रीमा गए, सबै उमेरका फ्यानहरू उनलाई हेर्न उत्सुक थिए । फ्यानहरूले कोहली–कोहलीको नारा लगाए र हात मिलाउन अनुरोध गरे । यति मात्र होइन, कोहलीले फ्यानतर्फ फर्केर उनीहरुको अभिवादन पनि स्वीकार गरे ।

जब पाकिस्तानी फ्यानले कोहलीको नाम भएको जर्सी लगाए


पाकिस्तानी फ्यानहरूले कोहलीको नामको जर्सी लगाएको देख्नु सामान्य कुरा हो । २०१९ मा, पाकिस्तानको लाहोर शहरमा एक मोटरसाइकल चालकले क्रिकेट विश्वकपको लागि पाकिस्तान क्रिकेट टोलीको जर्सी लगाएको देखियो जसको पछाडि कोहलीको नाम लेखिएको थियो ।

गत हप्तामात्रै एसिया कपको समूह चरणमा भारतसँग पाकिस्तानको खेल हुनुअघि पाकिस्तानको कम जनसंख्या भएको बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादरका बालुवा कलाकार सचान बलोचले समुद्र तटमा कोहलीको तस्बिर कोरेका थिए । कलाकारको र उनको कामको ड्रोन फुटेज सामाजिक सञ्जालमा भाइरल भयो ।