• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

‘संविधान सभाको पर्यायवाची नेम्वाङ’



काठमाडौँ । मंगलवार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ ।

उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगिराख्नुभएको छ । नेम्वाङलाई श्रद्धाञ्जली दिन पुग्नुभएका नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँ नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भुमिका खेल्ने व्यक्ति भएको बताउनु भयो । नेम्वाङ संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने नेताको रुपमा रहेको पोखरेलले उल्लेख गर्नुभयो । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको उहाँले बताउनु भयो । नेम्वाङ जहिल्यैपनि समस्याहरुलाई सुल्झाउनेगरी प्रश्तुत हुने गरेको उहाँले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँको अत्यन्त सन्तुलनकारी भुमिका, मृदुभाषी र संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने कोशिस गर्ने नेताको रुपमा मैले बुझ्दछु । राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भुमिका उहाँले खेल्नुभयो त्यो स्मरणिय छ । ऐतिहासिक महत्व राख्ने भुमिका छ । यसलाई हामी कहिल्यै भुल्न सक्दैनौँ । उहाँलाई पार्टीमा सम्मानका साथ हेरिन्थ्यो । बुझिन्थ्यो । उहाँको भुमिकापनि प्रतिकुलताहरुमा, अपm्ठ्यारो क्षणहरुमा उहाँ जहिल्यैपनि सन्तुलनकारी भएर प्रश्तुत हुनुभयो । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यैपनि राख्ने । समस्या परेको बेलामा बल्झाउने होइन सुल्झाउने हिसावले प्रश्तुत हुने उहाँको चरित्र थियो ।’

त्यस्तै पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताउनु भयो । उहाँले नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको स्मरण गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको पुन:गठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म सभामुख हुँदाखेरी दिनदिनै मैले उहाँसँग छलफल गर्थें । सधैँभर उहाँले रचनात्मक, सिर्जनात्मक खालको परिपक्व सल्लाह दिनुहुन्थ्यो । यस अर्थमा मलाई सच्चा मित्र, देशको संवैधानिक कानूनको ज्ञाता र असल राजनीतिज्ञ गुमाएको अनुभुत भएको छ । अहिले कम्युनिष्ट पार्टीको पुन:गठनको आवश्यकता महशुस भइरहेको बेलामा त्यस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपर्दा म स्तब्ध छु ।’

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रुपमा रहनुभएको बताउनु भयो । नेम्वाङ एउटै कम्युनिष्ट आन्दोलन र एउटै कम्युनिष्ट पार्टी चाहने व्यक्ति भएको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संविधान सभाको एउटा पर्यायवाचीको रुपमा चिनिने व्यक्तित्व र नेतृत्व हो । अझ उहाँको शालिन, सौम्य, बौद्धिक व्यक्तित्व चाहीँ विशेष ढंगले स्मरणिय छ । हाम्रो संविधान भन्नेबित्तिकै सुवास नेम्वाङ जोडिएर आउनुहुन्छ । उहाँको अप्रत्यासित मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । उहाँ एकीकृत कम्युनिष्ट आन्दोलन, एउटै कम्युनिष्ट पार्टी चाहाने व्यक्तित्व हो । हाम्रो आन्दोलनमा उहाँको भुमिका सम्झिरहने छौँ ।’

नेकपा(एमाले)का सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रुपमा प्रश्तुत गर्नुभएको बताउनु भयो । नेम्वाङले तमाम खालका द्वन्द्व र विमतिहरुलाई सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गर्नभएको उहाँले बताउनु भयो । समकालिन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँले राष्ट्रिय राजनीतिमा आफूलाई विमत्तिका बिच सहमतीको मियोको रुपमा प्रश्तुत गरेर खासगरी तमाम खालका द्वन्द्व र विमतीहरुलाई पनि सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गरेर अगाडी बढ्नुभएको छ । समकालिन राजनीतिमा उहाँको यो व्यक्तित्वको क्षतिपूर्ति गर्नसक्ने अर्को पात्र हामीले देख्न सकिरहेका छैनौँ । लामो समयसम्म उहाँको यो अभाव खड्किइरहने छ ।’

नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उहाँले बताउनु भयो ।