६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री खनाल

चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री खनाल
अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री खनालले नेपालले दुवै छिमेकी मुलुकसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एकअर्काका वैध चासोप्रतिको संवेदनशीलताका आधारमा स्वतन्त्र रूपमा सम्बन्ध सुदृढ गर्दै आएको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र समृद्धिको सबैभन्दा भरपर्दो माध्यम भएको बताउनुभयो । ‘एसियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको छ। सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सुनिश्चित मार्ग हो,’ उहाँले भन्नुभयो ।

उहाँले चीन र भारतको निरन्तर आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकहरूलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा कनेक्टिभिटी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको बताउनुभयो । परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको स्पष्ट पार्दै यसको मूल उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो परराष्ट्र नीति जनताको जीवनस्तर सुधारसँग जोडिएको छ। व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु नै यसको मूल उद्देश्य हो,’ उहाँले भन्नुभयो ।

उहाँले दक्षिण एसियामा विशाल आर्थिक सम्भावना हुँदाहुँदै पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह तथा आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रले उल्लेखनीय आर्थिक लाभ हासिल गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । ‘हाम्रो सहकार्यको सफलता हामीले कति सम्झौता गर्‍यौँ भन्ने होइन, आफ्ना नागरिकका लागि कति अवसर सिर्जना गर्न सक्यौँ भन्ने आधारमा मापन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले वर्तमान सरकारले आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेको उल्लेख गर्दै गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा निजी क्षेत्रको विकासमा विशेष जोड दिएको बताउनुभयो । ‘आर्थिक कूटनीति आज हाम्रो परराष्ट्र नीतिको केन्द्रीय प्राथमिकता बनेको छ। नेपाल दिगो, समावेशी र उत्थानशील विकासका लागि सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार छ,’ उहाँले भन्नुभयो ।

उहाँले नेपाल दुई ठूला तथा तीव्र गतिमा विकसित अर्थतन्त्रबीच अवस्थित भएकाले त्यसलाई आर्थिक अवसरका रूपमा लिइएको उल्लेख गर्दै नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो। ‘हाम्रो आकांक्षा नेपाललाई भूपरिवेष्ठित देशबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त र गतिशील पुलमा रूपान्तरण गर्नु हो,’ उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालसँग ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता, समृद्ध जैविक विविधता, प्रचुर जलस्रोत, उर्वर कृषि क्षेत्र तथा विस्तारोन्मुख डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । साथै, भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा तथा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाले नेपालको ‘सफ्ट पावर’लाई थप सुदृढ बनाएको उहाँको भनाइ थियो ।

उहाँले क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान, नवप्रवर्तन तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालय, अनुसन्धान संस्था तथा थिंक ट्याङ्कबीचको सहकार्यलाई पनि सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री खनालले बहुध्रुवीय विश्वमा विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिँदै नेपाल त्यस दिशामा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । ‘एसियाको भविष्य केवल अर्थतन्त्रको आकार वा प्रविधिको गतिले मात्र निर्धारण हुने छैन, हामीले निर्माण गर्ने साझेदारीको गुणस्तर र एकअर्काप्रतिको विश्वासले पनि निर्धारण गर्नेछ,’ उहाँले भन्नुभयो ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा उक्तअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो।