१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व.रिजालको अन्त्येष्टि: पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर प्रमुख, उपप्रमुखबाट अन्तिम विदाइ



अ+ अ-

काठमाडौँ । काठमाडौ महानगरपालीका वडा नं १६का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।

आर्य घाट लैजानुअघि महानगरपालिकाले उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो । त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व। रिजालको पार्थिव सरीरमा महानगरपालिकाको झण्डा ओढाउनुभएको थियो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारी, विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसपछिको शव यात्रामा गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि पशुपति क्षेत्रमा नेपाली कांग्रेस पार्टीले अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । त्यहाँ श्रद्धाञ्जलीका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापासहित नेताहरु पुग्नुभएको थियो ।

रिजालको निधनले महानगरपालिकालाई अपुरणीय क्षति भएको छ । आज महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जारी गर्नुभएको शोक विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले होनहार र स्पष्ट बोल्ने जनप्रतिनिधि गुमाएको छ ।’ यस्तै प्रशासन विभागका प्रमुख दिपक अधिकारीको हस्ताक्षरमा भदौ २२ गते शुक्रबार शोक विदा सम्बन्धी सूचना जारी भएको छ । यस दिन विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरुलाई विदा दिइएको हो ।

रिजालको मृत्युका विषयमा धापासीस्थित ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै, उहाँ भदौ १७ गते आइतबार दिउँसो १ बजे उपचारका लागि अस्पताल भर्ना हुनु भएको उल्लेख गरेको छ । दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरी भएर उपचारका क्रममा आज विहान ७ बजेर ३० मिनेटमा उहाँको मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

रिजाल यस अघिको कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदका लागि निर्वाचित हुनुभएको थियो । चुनावमा उहाँले नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा प्रतिस्पर्धा गर्नुभएको थियो । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक हुनुहुन्थ्यो ।

पिता मेघनाथ र माता राधादेवीको सन्तानका रुपमा उहाँको जन्म २०२७ साल कार्तिक १९ गते धादिङ् जिल्लामा भएको थियो । उहाँ मातापितासँगै श्रीमति कविता, छोराहरु सन्देश र सार्थकका साथमा बस्दै आउनुभएको थियो ।