• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ★   आँखालाई माया गर्नुहोस्’ लोकार्पण ★   यी हुन् टी-२० विश्वकपमा समूह चरणमा धैरै रन बनाउने ब्याट्सम्यानहरु ★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण



धादिङ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । “धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ”, उहाँले भन्नुभयो, “धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।”

अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ । पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो । “सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो । स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौँ । सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौँ ।”

दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो ।”

यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । “नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

चालक र यात्रुले भने सडकमै जाँच गर्नुको सट्टा काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने बताएका छन् । बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्कमै यस्ता जाँच गर्न चालक मनोज कुमालले आग्रह गर्नुभयो । यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन् । दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने यात्रु लोक थापामगरले बताउनुभयो । रासस