• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ:  रेखा शर्मा (अन्तर्वार्ता) ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा

सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग



पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–११ इखाछेंमा अवस्थित पुन:निर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ । यसरी पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

नगरप्रमुख महर्जनले सम्पदा संरक्षणका लागि विश्व बैकले गरेको लगानीबाट भएको उत्कृष्ट काम र उपत्यकाभित्र देखाउन लायक सम्पदा ललितपुरको पिम्वहाल पोखरी मात्रै भएको भन्दै सम्पदा संरक्षणका लागि ललितपुरले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

सामाजिक क्षेत्र र सम्पदा संरक्षणका क्षेत्रमा अतुलनीय र अति राम्रो काम सम्पादन गरेको भन्दै बागमती प्रदेश सरकार र प्रधानमन्त्रीबाट समेत सम्मानित हुने अवसर पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा महानगरभित्र एक सय ३२ वटा पाटी पौवा निर्माण गरेको प्रस्ट पार्दै सबै पार्टीपौवाको जीर्णोद्धार तथा पुन:निर्माणले राम्रो प्रभाव पारेको बताउनुभयो । यी सबै काममध्ये पनि राम्रो काम नापीचन्द्र महाविहारको पुन:निर्माण भएको उहाँको धारणा थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदा र मठमन्दिर निर्माणबाट नयाँ अनुभव प्राप्त भएको धारणा राख्नुभयो । “सन् २०१५ मा भारत सरकारबाट भूकम्पबाट प्रभावित नेपालका आवास तथा सम्पदा पुन:निर्माणका लागि २५ करोड अमेरिकी डलर घोषणा भएको थियो । त्यहीमध्येबाटै नापीचन्द्र महाविहारको पुन:निर्माण भएको हो । सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टले कन्सल्टेन्टका रूपमा सहयोग गरेको हो । केही समयपहिले बूढानीलकण्ठमा धर्मशाला पुन: निर्माण सम्पन्न गरेको थियो”, राजदूत श्रीवास्तवले भन्नुभयो ।

राजदूत श्रीवास्तवले ललितपुरका नगरप्रमुखसँगको समन्वय र भारतीय सहयोगमा बाँकी काम सम्पन्न गर्न प्रयत्नशील रहने धारणा राख्नुभयो । नेपालीहरूको सहयोग रहेसम्म नेपाली संस्कृति धरोहरको संरक्षणका लागि भारतीय सहयोग हुने भन्दै उहाँले नेपाल र भारतबीच रहेको धार्मिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहने बताउनुभयो ।

भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइद्वारा कार्यान्वयन गरी महाविहारको पुन:निर्माण सम्पन्न भएको हो । महाविहारको लागत रु दुई करोड ७६ लाख रहेको ललितपुर विकासका लागि समाजका अध्यक्ष तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले जानकारी दिनुभयो । रासस