१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: बंगलादेशद्वारा अफगानिस्तान ८९ रनले पराजित



अ+ अ-

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानको लाहोरमा गएराति सम्पन्न खेलमा बंगलादेशका दुई खेलाडीको शतक मद्दतले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

यो जितसँगै बंगलादेश, श्रीलंका र अफगानिस्तानबीचको अंक तालिका थप रोमाञ्चक बनेको छ । दोस्रो राउन्डमा छनौट हुने सम्भावना तीनै टिमबीच उस्तै छ । यद्यपि श्रीलंका र बंगलादेशले एक एक खेल जितेर २–२ अंक बटुलेका छन् तर अफगानिस्तानले अब श्रीलंकासँग खेल्न बाँकी छ ।

आइतबारको दिवारात्रि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले मेहदी हसनको ११२ रन तथा नजमुल हुसेन शान्टोको १०४ रनको मद्दतले ३३४ रन बनाएको थियो । बंगलादेशको इनिङमा मोहम्मद नइमले २८, कप्तान शाकिब अल हसनले ३२ तथा मुस्फिकर रहिमले २५ रनको योगदान गरेका थिए ।

जितका लागि ३३५ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले नियमित अन्तरालमा विकेट गुमाएको थियो । दबाबमा परेको अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाड्रानले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान हस्मातुल्लाह शाहिदीले ५१, अन्त्यतिर मैदान प्रवेश गरेका रसिद खानले २४ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमदले ४, शोरिफुल इस्लामले ३, हसन महमुद र मेहदी हसनले १–१ विकेट लिएका थिए ।

समूह बी को अंक तालिका

१. श्रीलंका – १ खेल – १ जित – २ अंक
२. बंगलादेश – २ खेल – १ जित १ हार – २ अंक
३. अफगानिस्तान – १ खेल – १ हार – ० अंक

आजको खेल
नेपाल र भारत (समय अपराह्न ३.१५ बजे)
स्थान: श्रीलंका (पालिकेल्ले रंगशाला)