• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड ★   गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित ★   चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना– तस्बिरहरु ★   बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री ★   सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन: नेता निधी

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उहाँले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभएको छ । “विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताउनुभयो । “यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता तथा सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्‍याउनसमेत आम जनसमुदायमा अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ । जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उहाँले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गर्नुभएको छ । रासस