• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल



धनुषा । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् ।

दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले धनुषासहित तराई–मधेसका नगर, गाउँ र बस्तीका पसल रङ्गीविरङ्गी राखीले भरिभराउ भएका छन् ।

राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।

ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको राखी पसल सञ्चालक सुरेश साहले बताउनुभयो । उहाँले २० वर्षदेखि चाडपर्व लक्षित अस्थायी पसल गर्दै आउनुभएको छ । उहाँले प्रति राखी रू ५० देखि रू दुई सयसम्म पर्ने बताउनुभयो । “बच्चालाई लोभ्याउने खालका विभिन्न कार्टुन वा खेलौना जडित राखी पनि बजारमा पाइन्छन् । यसको मूल्य अरुभन्दा केही कम हुन्छ”, उहाँले भन्नुभयो ।

दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसीसम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्वलाई यस क्षेत्रको महान् सांस्कृतिक पर्व मानिने मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाध्न निम्तो दिने गर्दछन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।

स्थानीय मञ्जु यादवले राखी पर्वको तयारी १५ दिन अघिदेखि गरेको सुनाउनुभयो । अहिले बजारमा पाइने रङ्गीविरङ्गी राखीले घरमा राखी बनाउने झन्झट हटेको उहाँको भनाइ थियो ।

सत्य युगमा तीनै लोक (स्वर्ग, मत्यु र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएकाले युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा छ ।

यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित गरिएको डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । मधेसी समुदायले मनाउने यस रक्षाबन्धन पर्व पछिल्ला दिनमा पहाडी समुदायमा पनि मनाउन थालिएको छ ।

रक्षाबन्धन पर्वलाई मध्येनजर गरी जिल्ला प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाइ गर्नुका साथै प्रहरीले निगरानीसमेत बढाएको छ । रासस