२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भोजमा सहभागी भएका २५ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको  गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उहाँको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेको कँडेल बताउनुहुन्छ ।

जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै उहाँले सबैतिर परीक्षण शुरु गरेको बताउनुभयो । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो । उहाँले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताउनुभयो ।

“अहिले सङ्क्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्”, उहाँले भन्नुभयो “पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।”

गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ ।

अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ । 

उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।