२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै



अ+ अ-

धादिङ । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ ।

एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिनुभयो । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा रू १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उहाँले बताउनुभयो । “नौविसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ”, उहाँले भन्नुभयो ।

सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथहुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् ।

उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताउनुभयो । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उहाँले जानकारी दिनुभयो । “नौविसे र खत्रीपौवामा पुल बन्दैछ । नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ”, उहाँले भन्नुभयो ।

सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताउनुभयो । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ । रासस