२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

हर्षोल्लासका साथ मनाइयो उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

हर्षोल्लासका साथ मनाइयो उज्याली गौरा एवं दुर्वाष्टमी पर्व
File Photo
अ अ+ अ-

काठमाडौँ ।  उमा महेश्वरसहित दुवोको पूजा गरेर कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मूल घर भई काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा बस्नेले पनि आज गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । यो पर्व अगस्त्य ऋषिको उदय भाद्र शुक्ल पक्षअघि भएमा श्रावण शुक्ल पक्षमै मनाउने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष भदौ २२ गते अगस्त्य ऋषिको उदय हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले आज मनाइएको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनुहुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

गौरालाई कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई श्रावण शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो ।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यो पर्वका लागि यस वर्ष श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिएको हो ।

दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियुन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।

यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गरेकामा विगतका वर्षमा भीड जम्मा भएर मनाउन कोरोनाका कारण सहज भएन । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । यस वर्ष पनि टुँडिखेलमा गौरा पर्व मनाउने कर्णाली र सुदूरपश्चिम प्रदेशवासीको चहलपहल देखिएको थियो । रासस