४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

गैँडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

गैँडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी
अ+ अ-

मध्यविन्दु । सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ ।

चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उहाँले विसं २०७५ बाट व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आउनुभएको छ । “चौध रोपनीबाट सुरु गर्नुभएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो ।

एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिकरूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मीले बताउनुभयो । “सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्”, उहाँले भन्नुभयो, “यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”

सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताउनुभयो । “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म रु दुई करोड ५० लाख लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सहजै सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उहाँले बताउनुभयो ।

पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन् । “पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छाँै ।”

कोदो र मकैमात्रै लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तालाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । “रेग्मीसरकोे टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो”, स्थानीय युवबहादुर सारुले भन्नुभयो ।

बसेनीमा सुन्तलाको बोट सपिँ्रदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह–सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताउनुभयो । यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन् ।

“बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु”, सारुले भन्नुभयो, “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जाँदा यहीँ माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताउनुभयो ।

परियोजनाले जिल्लामा विसं २०७५ बाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो । सुरुमा तीन सय ३१ हेक्टरमा हँुदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । “जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट– १८ रहेको उहाँले बताउनुभयो । “यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्”, उहाँले भन्नुभयो । जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५ र मध्यविन्दु–८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ । कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ । रासस