• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीको प्रवचन आजदेखि



नवलपरासीः नवलपरासीको दुम्कौलीमा चाैधरी समूहले निर्माण गरेको सिजी शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताउनुभयो ।

बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै  शास्वतधाममा आउनुहुने धितालले बताउनुभयो ।

“शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उहाँले भन्नुभयो, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।” तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताउनुभयो । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।

शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आउनुभएको हो । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।

शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । आगामी सोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताउनुभयो ।