४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

बसाइँसराइको असर: खण्डहरु बन्दै गाउँका ढुङ्गेघर

बसाइँसराइको असर: खण्डहरु बन्दै गाउँका ढुङ्गेघर
अ+ अ-

गलेश्वर । ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला डुल्दछन् । पिँढीमा हरियो ढुसी देखिन्छ । रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन् । छानो भत्किएको छ, घरको धुरीबलो र झ्याल ढोका मक्किएका छन् ।

बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टी रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्नेको मन कटक्क खान्छ । टल्कने स्लेट ढुङ्गाले छाएको सडक र यातायातलगायत विकासका पूर्वाधारले छोएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि तीन किलोमिटरको दूरीमा रहेको, कौसी र बाह्रतलीसहितका सुन्दर घर भएको यो गाउँ अहिले खण्डहरमा परिणत भएको छ ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारदेखि नजिकै रहेको, मालिका गाउँपालिका–६ मा पर्ने रातोढुङ्गा गाउँमा अहिले न आगो बल्छ न उज्यालो । कैयौँलाई पाली हुर्काएका घर अहिले पुराना गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन् ।

आजभन्दा एक दशकअघिसम्म हराभरा रहेको रातोढुङ्गा गाउँ अहिले पूरै उजाडिएको छ । बेनी–दरबाङ सडकको माथिल्लो र तल्लोपट्टी पक्की घर बनेर व्यापार व्यवसाय चलेको छ तर सडकदेखि १५ मिटर तल्लोपट्टी म्याग्दी नदीको किनारामा रहेको रातोढुङ्गाका सात वटा चिटिक्कका ढुङ्गेघर मानवविहीन छन् । भत्किँनै लागेको अवस्थामा देखिने ती घर खण्डहरमा परिणत भएका स्थानीय विकल सेनले बताउनुभयो ।

भौतिक सुख र सुविधा खोज्दै सर्वसाधारण सहर र मधेस झरेपछि गाउँ रित्तिँदै गएको हो । बसाइँसराइ अहिले रातोढुङ्गाको मात्रै नभएर म्याग्दी जिल्लाको नै मुख्य चुनौती बनेको छ । आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सबल र सचेत भएर पनि बसाइ सर्नुको कारण उहाँले मानिस सुविधा भोगी भएकाले गाउँको यस्तो स्थिति भएको भन्नुभयो ।

“छोराछोरी सुविधा भएको ठाउँमा बस्न खोजे, सुविधाको खोजीले यस्तो भएको हो”, स्थानीयवासी सेनले उल्लेख गर्नुभयो, “कतिले बाध्यताले बसाइँ सरे र कतिले त रहरले सहर रोजे । परिणाम गाउँहरु उजाडिँदै गए, बस्तीहरु रित्तिँदै गए ।”

“रातोढुङ्गा गाउँका नौ घर परिवार गाउँ नै छोडेर सहर पसेका छन् भने कतिपय सडकको छेउमा पक्कीघर बनाएर बसेका छन्”, रातोढुङ्गा पारीको कुरसिम्ला गाउँकी मनकुमारी पुनले बताउनुभयो ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो सहरी क्षेत्रमा बसाइँसराइ गर्ने गरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाको भनाइ थियोे । “थकालीको बस्ती रहेको रातोढुङ्गा गाउँका सबै घर रित्ता छन्, त्यहाँका सात घरपरिवार थकाली बसाइँसराइ गरेर काठमाडाँै, पोखरा गएपछि गाउँको अवस्था त्यस्तो भएको हो”, वडाध्यक्ष रोकाले भन्नुभयो । व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँसराइको प्रवृत्ति निर्धारण हुने गरेको उहाँको भनाइ थियो ।

वडा कार्यालयमा बसाइँसराइको कागज बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ भने अधिकांशले घरजग्गा बेचेर औपचारिक बसाइँसराइ पनि नगरी अन्यत्र गइरहेका पनि वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

रातोढुङ्गाको मात्रै होइन पश्चिम म्याग्दीका अधिकांश गाउँ रित्तिँदै जान थालेका छन् । जिल्लाको देविस्थान, रुम, बिम, धवलागिरि गाउँपालिकाका मुना, मुदी, ताकम, मराङलगायत गाउँबाट बाहिरिनेको सङ्ख्या बर्सेनि बढ्दै जान थालेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

यहाँका प्रत्येक घरबाट छोराछोरी, बुहारी अमेरिका, जापान, अष्टे«लिया, क्यानडालगायत मुलुकमा पुगेका छन् । अन्य तेस्रो मुलुक र भारतीय सेनामा कार्यरतको सङ्ख्या पनि उत्तिकै छ । पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पारेको दरबाङका समाजसेवी हिराबहादुर पुनले बताउनुभयो ।

“पैसा कमाउने, राम्रो ठाउँमा सुविधा लिएर बस्ने सोच सबैमा छ”, उहाँले भन्नुभयो, “गाउँमा दु:ख र परिश्रम गरेर कोही बस्न चाहन्न ।” कतिपयले त घरजग्गा त्यत्तिकै छोडेर गएको उहाँको भनाइ थियो ।

“गाउँलाई समृद्धिमा लैजाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँसराइलाई तुलनात्मकरुपमा घटाउन सकिन्छ”, समाजसेवी पुनले भन्नुभयो । राज्य पुन:संरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि विश्वस्त भइहाल्ने वातावरण बन्न नसकेको अधिकांशको भनाइ थियो । समाज विकसित अवस्थामा पुगेमात्र बसाइँसराइजस्ता समस्या समाधान हुने दरबाङका बुद्धिजीवी सन्तोष सुवेदीले बताउनुभयो ।

“समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन”, उहाँले भन्नुभयो, “बसाइँसराइ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ ।” बसाइँसराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमिन बाँझै छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि असर पार्ने देखिन्छ । जिल्ला तथ्याङ्क कार्यालयसँग आन्तरिक बसाइँसराइको कुनै लेखाजोखा छैन ।

जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवासुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसङ्ख्या वृद्धिदर पनि ऋणात्मक हुने अवस्थामा पुगेको सरोकारवालाहरुले बताएका छन् ।

विसं २०६८ मा एक घर परिवारभित्र ४ दशमलव ०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ ।

ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालयका पूर्वप्रमुख घनश्याम सापकोटाले बताउनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ”, उहाँले भन्नुभयो । जिल्लाको छवटै स्थानीय तहमासमेत विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ ।

म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेकामा पुरुष आठ हजार आठ सय ४३ र महिला १८ सय ७० छन् । अहिले यहाँ २५ हजार तीन सय ७४ घरधुरीका २९ हजार दुई सय ४२ परिवारको बसोबास छ । ९५ दशमलव ८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार तीन दशमलव ६७ र जनघनत्व ४७ रहेको छ ।

जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्ने ० दशमलव ४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ ।

पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने भएकाले महिला र पुरुषको संख्याको अन्तर घट्दो रहेको छ । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको पाइएको छ ।

बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि बिरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ थियो । म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को नतिजामा एक लाख सात हजार तीन सय ७२ जना छन् । रासस