• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी

मनाङका किसानले स्याउ टिप्न थाले



फाईल फोटो

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उहाँले भन्नुभयो । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा बजारसम्म पुर्‍याउने गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताउनुभयो । मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । “स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउदैन”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरुपमा सग्लै पुर्‍याउन भने कठिन छ । सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताउनुभयो । “बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए”, उहाँले भन्नुभयो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौँ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिनुभयो । “लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ”, उहाँले भन्नुभयो । कोभिड सङ्क्रमणको समयमा यहाँका स्याउ बजारसम्म पुर्‍याउन सकस भए पनि यस वर्ष स्याउको उत्पादन बढेको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ । बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ । हाल सडकअवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।रासस