• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ? ★   मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्छ – डा संग्रौला ★   “अझ परिपूर्ण मुलुक” बन्न प्रेस स्वतन्त्रता महत्त्वपूर्ण: नेपालस्थित अमेरिकी दूतावास

बेनी–जोमसोम सडक: बैसरीको पहिरो रोकथाम गरिँदै



म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो । सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताउनुभयो ।

“छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ”, उहाँले भन्नुभयो, “करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।”

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताउनुभयो । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुङ्गामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ । पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढ्ङ्गामाटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गरिएको छ । बैसरीको पहिराले साउन २१ गतेदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

बेनीबाट पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । पहिराले पुरेको जिप अझै निकालिएको छैन भने सवारीधनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा ढुङ्गा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ । पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ । बैसरी खण्डको विकल्पमा जिप, मोटरसाइकल र ट्रयाक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको थियो । डोजर, ब्याकुहोलोडर, ट्रयाक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युमपाइप राख्ने काम भइरहेको कार्यालयका सबइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन लागिएको हो । रासस