• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमडौंमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताउनुभएको हो । उहाँले पर्वतीय देशका मान्यता प्रवद्र्धनका लागि सामुहिक यात्रा सकारात्मक रुपमा अघि बढेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तिब्र भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका बासिन्दाहरुको संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पुर्‍याएको जिकिर गर्नुभयो । उहाँले हिमाली क्षेत्रका जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै दिगो विकासका विकल्पहरू पहिचान गर्न क्षेत्रीय र विश्वव्यापी सहयोगमा ध्यान केन्द्रित हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्वतीय देशका मान्यता प्रवद्र्धन गर्ने हाम्रो सामुहिक यात्रा सकारात्मक रूपमा अगाडि बढेको छ । कोप–२८ ले राष्ट्रहरूलाई एकजुट हुन र महत्वाकांक्षी जलवायु कार्यमा प्रतिवद्धता गर्न र त्यसको पुन: पुष्टि गर्न महत्त्वपूर्ण अवसर दियो । म नेपालद्वारा आयोजित ‘पर्वतको आह्वान’ शिर्षकको उच्च–स्तरीय सम्मेलनमार्फत कोप–२८ मा पर्वतीय देशका मुद्दा स्थापित गर्ने हाम्रो सामुहिक सफलता स्मरण गराउन चाहन्छु । हामीले हाम्रा अघिल्ला प्रयासहरूलाई काममा परिणत गर्नुपर्नेछ जसले भविष्यका पुस्ताहरूको लागि पर्वतीय वातावरणको नाजुक सन्तुलनलाई जोगाउन मद्दत पुर्‍याउँछ । पर्वतहरू प्राकृतिका अमूल्य सम्पती हुन् । यी क्षेत्रमा विश्वका १५ प्रतिशत जनसङ्ख्या बसोवास गर्छन् । विश्वका लगभग आधा जैविक विविधता यही ‘हटस्पट’मा रहेका छन् भने व्यापक प्रकारका वनस्पति र जीवहरू र विभिन्न भाषाहरू, संस्कृतिहरू, र परम्पराहरू भएका समुदायहरू छन् । पर्वतहरूले विश्वको जलवायु प्रणालीमा महत्वपूर्ण भुमिका खेल्छन् । विश्वमा तापक्रम कायम राख्न योगदान पुर्‍याउँछन् । पर्वत र तल्लो भेगमा बसोवास गर्ने अर्बौं मानिसका लागि पानीको स्रोतका रूपमा काम गर्छन् । म जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का हालैका प्रतिवेदनहरू उल्लेख गर्न चाहन्छु, जसले पर्वतहरूमा जलवायु परिवर्तनको प्रभाव अकल्पनीय रहेको सङ्केत गरेको छ । यो स्पष्ट छ कि संसार जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेका पर्वतीय देशहरू तातोको प्रतिकुल प्रभावले अत्यधिक प्रभावित भएका छन् । यसले पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तिब्र बनाउँदै लगेको छ । जल उपलब्धता परिवर्तन गर्दै चरम अवस्था निम्त्याइरहेको छ । यसले जल सुरक्षामा गम्भीर चुनौती पैदा गरेको छ र यी जल स्रोतहरूमा निर्भर रहेका लाखौं मानिस र माथिल्लो र तल्लो भेगका देशहरूलाई असर पुर्‍याइरहेका छन् । हामीले जसरी हाम्रा स्वच्छ प्राकृतिक स्रोतहरूको सङ्कट अनुभव गरिरहेका छौँ, यो जलवायु परिवर्तन हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । पर्वतहरूमा तापक्रम वृद्धिदर समथर भूभागमा भन्दा उच्च छ । प्रक्षेपणहरूले सन् २०५० सम्ममा पर्वतहरूमा औसत तापमान १.८ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिइरहेको छ । यो शताब्दीको अन्त्यसम्ममा हामी संसारको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्न सफल हुनेछैनौँ । हिमताल विस्फोट भएर आउने बाढी नेपाल र अन्य पर्वतीय देशहरूको बारम्बारका खतराहरू हुन् । वर्तमान उत्सर्जनको अवस्था चलिरहँदा यो शताब्दीको अन्त्यसम्ममा हिमनदीहरूको वर्तमान आयातन ८० प्रतिशत हराउनेछ । पर्वतीय अर्थतन्त्र कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारजस्ता जलवायु संवेदनशील क्षेत्रहरूमा परेको खराब असरका कारण पर्वतीय समुदाय र पारिस्थितिक प्रणालीमा सबैभन्दा खराब जलवायु प्रभाव देखिएका छन् । स्रोतहरूमा आएको कमी, उत्पादन र उत्पादकत्वमा घट्दो क्रम एवं यहाँका वासिन्दाहरूको संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पुर्‍याएको छ । मुख्यतया मौसममा आधारित जीविकोपार्जनमा निर्भर रहने गरिव, महिलालगायत प्रतिकुल समुदायसँग परिवर्तनहरूको सामना गर्ने सिमित जानकारी, स्रोतहरू र क्षमताको कमी भएका कारण जलवायु परिवर्तनले उनीहरूलाई फरक तवरले असर पारिरहेको छ । पर्वतीय समुदायहरू र उनीहरूले प्रदान गर्ने पारिस्थितिकी सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन गर्नुपर्छ भन्नेमा विश्वस्त छु । तापक्रम १.५ डिग्री सेल्सियसमा सिमित गर्न, तत्कालताका साथसाथै हिमाली क्षेत्रका जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै दिगो विकासका विकल्पहरू पहिचान गर्न क्षेत्रीय र विश्वव्यापी सहयोगमा ध्यान केन्द्रित गर्नुपर्नेछ ।’

प्रधानमन्त्री दाहालले पर्वतीय मुद्दाहरूलाई अगाडि बढाउन एवं पर्वत र समस्याको दिगो समाधान खोज्नका लागि विश्वव्यापी सहमति र समर्थनको आवश्यकता रहेको बताउनु भयो । जलवायु परिवर्तनसँग सामना गर्नुपर्ने तत्कालको आवश्यकता बुझेर नै नेपालले अन्तर्राष्ट्रिय संवाद आयोजना गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल