५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।

कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताउनुभयो । “एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ”, उहाँले भन्नुभयो, “यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।”

रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाउनुभयो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताउनुभयो । “वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।” उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी ई अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताउनुभयो । “निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ”, उहाँले भन्नुभयो, “कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ ।”

ई थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गर्नुभयो । “समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन”, ई थापाले भन्नुभयो । रासस




भर्खरै